धरान । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा बजारका सम्भावनाहरूको खोजी गर्न ‘एमएमसी विजनेस एक्स्पो’ लगाइएको छ ।
बिबिएम छैटौं सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा भएको एक्स्पोमा विभिन्न कम्पनी तथा उत्पादनका ३० वटा स्टल राखिएका थिए । एक्स्पोले बजारको सम्भावना, नयाँ अवधारणाबारे जानकारी दिने अध्यापक त्रिभुवन बरालले जानकारी दिए । एक्स्पोमा खानेकुरादेखि इन्जिनियरिङ विधाका स्टलहरू पनि राखिएका छन् ।
परिवर्तनका लागि सामाजिक अभियानले पनि आफ्नो स्टल राख्दै विद्यार्थीहरूलाई निःशुल्क रूपमा सेवा प्रवाह गरेको छ । अभियानले एक सय ३८ जना विद्यार्थीहरूको रक्तसमूह पहिचान, रक्तदानसम्बन्धी उत्प्रेरणा निःशुल्क जाँच गरेको छ । एक्स्पोको उद्घाटनको क्रममा विभिन्न च्याब्रुङ समूह, विद्यार्थीहरूले साङ्गीतिक मनोरञ्जन पनि प्रदान गरेका थिए ।
कार्यक्रममा बिबिएमका निर्देशक नवीनकुमार नेपालको सभापत्विमा भएको एक्स्पोको उद्घाटन धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङले गरे । विद्यार्थीहरूले विजनेस प्लान विषयअन्तर्गत एक्स्पो गरेका हुन् ।