धरान । नेकपा एमाले समर्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर कमिटीले मजदुर क्षेत्रबाट निर्वाचित धरानका ९ जना जनप्रतिनिधिहरूलाई सम्मानित गरेको छ ।

शनिबार धरान १० स्थित होटल पव एन्ट रेस्टुरेन्टमा एक कार्यक्रम गर्दै मजदुर क्षेत्रबाट निर्वाचित बनेकाहरूलाई सम्मानित गरिएको नगर अध्यक्ष कमल भट्टराईले जानकारी दिए । सम्मानित हुनेमा वडाध्यक्षतर्फ नरेश इवारम, जीवनराज सुवेदी, नेत्र काफ्ले, विवेक राई, धनबहादुर राई छन् । 

त्यस्तै सदस्यतर्फ डम्बर अधिकारी, सम्सेर बर्देवा, रंगलाल गिरी र देवीप्रसाद पोखरेल छन् । उनीहरूलाई सम्मान पत्रसहित संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, पूर्व केन्द्रीय अध्यक्ष एवम् एमालेका प्रदेश सदस्य मोतीराज सुनुवारलगायतले सम्मान–पत्र प्रदान गरे । संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मजदुर क्षेत्रबाट संघीय, प्रदेशहरूमा १० प्रतिशत मजदुरलाई उम्मेदवार बनाउनुपर्ने माग विगतदेखि नै रहेको बताए ।