बिर्तामोड । सरकारले परीक्षणका रुपमा आइतबार विदा दिन गरेको निर्णयलाई बिर्तामोड नगरपालिकाले नमान्ने भएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले सरकारले दिएको आइतबारको विदा कार्यान्वयन नगर्ने भएको हो ।

नगरपालिकाले असार १ गतेदेखि लागु हुने गरी साविक बमोजिम कै विदा र समय लागु गर्ने निर्णय गरेको हो । नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी आइतबारलाई समेत सार्वजनिक विदा दिने निर्णय बमोजिम कार्यान्वयन शुरु गरिएको थियो । सो विदाका सन्दर्भमा स्थानीय नगरबासी तथा शैक्षिक संस्थाको माग बमोजिम आइतवारको विदा नगर्ने निर्णय गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।

यस्तै, कार्यपालिका बैठकले बिर्तामोड–३ मा बिर्ताबजार कृषि तथा सामुदायिक भवन निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाद्वारा निर्माण गरिएको टहरा भत्काएर नयाँ भवन निर्माणको लागि व्यवसायीलाई टहरा खाली गरिदिन आग्रह गरेको थियो ।

नगरपालिकाको आग्रह अनुसार व्यवसायीले वडा नं. ३ का वडाध्यक्षसहित जनप्रतिनिधिहरुसँग छलफल गरेर २६ बिहीवारसम्म टहरा खाली गरिदिने प्रतिवद्धता जनाएका थिए । कार्यपालिकाको निर्णय बमोजिम जेठ २७ देखि टहरा भत्काउने र नयाँ भवन निर्माण शुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने बताइएको छ ।

टहरा खाली गरेपछि व्यवसायीलाई तत्कालका लागि व्यवस्थान गर्न महेन्द्र माविको बाहिरको कम्पाउण्डको भाग प्रयोग गर्नका लागि विद्यालयसँग आग्रह गर्ने निर्णय गरिएको छ । टहरा निर्माण पश्चात व्यवसायीले स्वतः विधालयको ठाउँ खाली गर्नुपर्ने छ । सोही बैठकले ३४ वटा भौतिक पूर्वाधारसम्बन्धी योजना प्रदेशका मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।