इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्ने भएको छ । 

बालबालिकाको स्वास्थ्यमा नराकात्मक असर पार्ने भन्दै नगरपालिकाले विद्यालयमा खाजाको रूपमा जङ्क फुडको प्रयोगलाई निषेध गर्न लागिएको जनाएको छ ।

नगरप्रमुख केदार भण्डारीले वस्तुगत अवस्था अनुगमनका क्रममा अधिकांश विद्यालयमा खाजाका रूपमा विद्यार्थीले जङ्क फुडको प्रयोग गर्ने गरेको पाइएकाले सो उपर कडाइ गर्न लागिएको बताए ।

भण्डारीले सबै विद्यालयबाट जङ्क फुडको प्रयोग हटाउन नगर शिक्षा शाखालाई निर्देशन दिइएको बताए । उनले शाखामार्फत् विद्यालयलाई यसबारे जानकारी गराइने बताए ।

भण्डारीले भने, ‘अधिकांश विद्यालयमा प्याकेटका खानेकुरासँगै विभिन्न जङ्क फुड प्रयोग हुने गरेको पाइयो । जुन बालबालिकाको स्वास्थ्यको लागि अति नै हानिकारक छ । जसलाई रोक्न नगरपालिकाले आवश्यक कदम अघि बढाउनेछ ।’

भण्डारीका अनुसार नगर क्षेत्रका विद्यालयलाई दिवा खाजाका रूपमा पोषिलो र सरकारी मापदण्डअनुसारका खानेकुरा प्रयोगमा ल्याउन प्रेरित गरिनेछ । उनले अटेर गर्ने विद्यालयको हकमा कारबाहीको प्रक्रियासमेत अघि बढाइने बताए । नगरप्रमुख भण्डारीले  विद्यालय जाने आफ्ना बालबालिकाको स्वास्थ्यको सवालमा स्वयम् अभिभावकसमेत सचेत र जागरुक हुनुपर्ने बताए ।

इनरुवा नगरपालिकाको कार्यालयले दिएको जानकारीअनुसार नगरभित्र ३० वटा सामुदायिक र ४० को हाराहारीमा संस्थागत विद्यालय सञ्चालित छन् ।