भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नगर स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम षडानन्द नगरपालिका प्रमुख, उप प्रमुख, नगर कर्मचारी, नगर भित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूको उपस्थितिमा दिङ्लामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम, वार्षिक कार्यपात्रो निर्माण, सिकाइ उपलब्धि वृद्धि , नगरबाट शिक्षा क्षेत्रमा गर्नु पर्ने क्रियाकलापहरू, दिवा खाजा व्यवस्थापन, अङ्ग्रेजी माध्यमबाट पठनपाठन लगायतका विषयमा छलफल भएको छ । अन्तरक्रियामा उपस्थित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई विभिन्न ६ वटा समूहमा विभाजन गरी प्रत्येकलाई एक एक विषय दिई छलफलमा सामेल गराइएको आयोजकले जनाएको छ । सबै समूहबाट आएका विषयलाई एकीकृत गरेर विद्यालयहरूमा पठाउने नगर शिक्षा शाखा प्रमुख मणि कुमार तामाङले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र उदासले विद्यालय शिक्षकहरूलाई इमानदारिताका साथ गर्दै कटिबद्ध भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिए । उनले षडानन्द नगरपालिकाको क्षमताले भ्याए सम्म उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै शिक्षा क्षेत्रका समस्या समाधान गर्ने पनि प्रतिबद्धता जनाए । सोही कार्यक्रममा उप प्रमुख प्रमिला राईले शिक्षा क्षेत्रमा धेरै समस्या र बेथितिहरू भएको बताइन् । उनले सामुदायिक विद्यालयमा कार्यरत दक्ष शिक्षक, शिक्षिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन लागि तयार रहन आग्रह गरिन ।