विराटनगर । कक्षा ९ मा अध्ययनरत आर्जु थापा क्षेत्रीले ट्युबेलबाट आउने पहेँलो पानी पिउँथिन् । विद्यालयमा शुद्ध पिउने पानी नहुँदा ट्युबेलबाट आउने आर्सेनिकयुक्त पानी पिउन बाध्य थिइन् । यसरी आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य हुने आर्जुमात्र होइनन् ।
शिक्षा सदनमा अध्ययनरत करिब चार सय विद्यार्थी र शिक्षक वर्षौंदेखि ट्युबेलबाट आउने आर्यनयुक्त खानेपानी पिउन बाध्य भएका थिए । अब भने पूर्वविद्यार्थी दिनेश ठाकुरले शिक्षा सदन माविमा शुद्ध खानेपानीको (वाटर आरवो सिस्टम)’ धारा जडान गरिदिएपछि विद्यार्थी र शिक्षकले स्वच्छ पिउने पानी पिउन थालेका छन् । कक्षा सातसम्म शिक्षा सदनमा अध्ययन गरेका पूर्व विद्यार्थी ठाकुरले धारा जडान गरिदिएपछि सोमबार एक कार्यक्रम आयोजना गरी धाराको उद्घाटन गरियो ।
शुद्ध खानेपानीको धाराको उद्घाटन कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले गरेकी छन् । कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले गर्नुपर्ने काम यस विद्यालयका पूर्व विद्यार्थीले गरेर उदाहरणीय काम गरेको बताइन् ।
‘कलको यस्तो पहेँलो पानी खाँदा(खाँदा दाँत बिग्रियो । रोग पनि चाँडै लाग्छ रे भन्ने सुनेका थियौं । नयाँ धारा जडान भएपछि शुद्ध पिउने पानी पिउन थालेका छौं’–कक्षा ९ का सुमना गिरीले भनिन् ।
पूर्व विद्यार्थी ठाकुरले विद्यालयमा धारा पु¥याइदिएपछि विद्यार्थीहरूले आर्सेनिकयुक्त ट्युबेलको पानी क्रमशः प्रयोग गर्न छाडेका छन् । ‘आर्सेनिकयुक्त पानी आउन थालेपछि हामी स्कुलनजिक भएको घरमा जाने गरेका थियौं । त्यहाँ पनि पहेँलो यस्तै पानी आउने गरेको थियो । तर, अहिले त स्कुलमै शुद्ध खानेपानी आएको छ’–कक्षा ९ मा अध्ययनरत आर्जु थापा क्षेत्रीले भनिन् ।
१ देखि कक्षा ७ सम्म शिक्षा सदनमा अध्ययन गरेका ठाकुरले आफू पढेको विद्यालय र जन्मेको भूमिमा केही सामाजिक कार्य गर्ने उद्देश्य अनुरूप विद्यार्थीको लागि खानेपानीको धारा जडान गरिदिएको उनले बताए । ठाकुर अहिले विराटनगरस्थित आर्या न्यूरो हस्पिटलका निर्देशक रहेका छन् । उनले शिक्षा सदनबाट २०४४ सालमा कक्षा सात उत्तीर्ण गरेका थिए ।
त्यसपछि उच्चशिक्षा विराटनगरबाट हासिल गरेका हुन् । ‘शिक्षाको ज्योति छर्ने स्कुलमा आफू बाल्यकालमा रहँदा आर्सेनिकयुक्त ट्युबेलको पानी पिउन बाध्य हुनुपरेको थियो । अहिले अध्ययनरत विद्यार्थीहरूलाई शुद्ध खानेपानी खुवाउने र आफू पढेको विद्यालयमा पनि केही गर्ने उद्देश्यले खानेपानीको धारा जडान गरिदिएको हुँ’ उनले भने, ‘शुद्ध खानेपानी पिउन पाउनु जनताको आधारभूत अधिकार पनि हो । त्यही उद्देश्यले पनि शुद्ध पिउने पानीको लागि खानेपानी पुर्याएका हौँ ।’
उनले अतितका दिन स्मरण गर्दै भने, ‘स्कुलअगाडि प्रत्येक साल ३ वैशाखमा मेला लाग्ने गरेको छ । गत वर्ष स्कुलअगाडि लाग्ने मेलामा आउँदा यहाँका विद्यार्थीले आर्सेनिकयुक्त खानेपानी पिएको देखेपछि स्वच्छ पिउने पानी राखिदिने मेरो योजना थियो । अहिले आएर पूरा भएको छ ।’
शुद्ध पिउने पानीको लागि वाटर आरवो सिस्टमको प्रविधि ठाकुरले जडान गरिदिएका छन् । उनले तीन लाख ५० हजार रुपैयाँ लागतमा खानेपानी जडान गरिदिएका हुन् । आफू जन्मे हुर्केको ठाउँमा केही गर्ने उद्देश्यले खानेपानी जडान गरिदिएको उनले बताए ।
विद्यालय परिसरमा शुद्ध पिउने पानी जडान गरिदिएपछि विद्यार्थीलाई पानी पिउन सहज भएको शिक्षा सदन माविका प्रधानाध्यापक नारायणप्रसाद काफ्लेले जानकारी दिए । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, ३ नं. वडाका वडाध्यक्ष गोपाल कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलरूपा भुजेल, गोल्डेन अस्पतालका सञ्चालक अर्चना मण्डललगायतको उपस्थिति रहेको थियो ।