विजयपुर । रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेको धरानेहरूको समूहले धरान–२० का २ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ ।

सोमबार धरान–२० विष्णुपादुकाका मदन आश्रित विद्यालय र सुलिकोट आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ६० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको हो ।

कोरियामा रहेका धराने युवाहरूको समूह ‘वि धराने साउथ कोरिया’ नामको संस्थाको आर्थिक सहयोगमा शैक्षिक सामग्री प्रदान गरिएको हो । सोमबार वि धराने फेसबुक पेजका युवाहरू र वि धराने साउथ कोरियाका प्रतिनिधि धरान–८ निवासी विश्व श्रेष्ठले दुवै विद्यालयमा पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

उनका अनुसार उनीहरूले हरेक महिना आफ्नो तलबबाट केही रकम संस्थाको कोषमा जम्मा गर्ने गरेका छन् । धरानको ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग पहिलो कार्यक्रम गरेको हो । उनले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि सहयोग गर्ने बताए ।

उनीहरूले विद्यार्थीहरूलाई एक वर्ष पुग्ने गरी कापी, पेन्सिल, इरेजर, ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरिएको वि धराने पेजका एड्मिन तथा समन्वयकर्ता क्वान छाङले बताए । उनका अनुसार दुवै विद्यालयको सिफारिसमा निम्न आर्थिक अवस्थाका एक छात्रासहित २–२ जना गरी ४ जना विद्यार्थीलाई विद्यालयको पोसाक र जुत्ता पनि हस्तान्तरण गरिएको थियो ।