भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको छ । जिल्लाको दुई नगरपालिका सहित सात गाउँपालिकामा रहेका तीन सय ९४ सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित बनेको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएर वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको झन्डै दुई महिना बितिसक्दा समेत भोजपुरका सबै सामुदायिक विद्यालयहरूमा पर्याप्त पाठ्यपुस्तक नहुँदा सिकाइ सहजीकरणमा समस्या आएको छ । विद्यालयको नियमित पठनपाठनलाई निरन्तरता दिन नसक्दा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको शिक्षा विकास तथा समन्वय इकाई भोजपुर प्रमुख रुद्र राईले बताए ।

प्रमुख राईका अनुसार असार पहिलो हप्ता सम्म पनि धेरैजसो विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा यस्तो अवस्था आएको हो । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारी स्थानीय तहको चुनावमा खटिएकाले पाठ्यपुस्तक छाप्न ढिलाइ भएको उनको भनाई छ ।

पुस्तक बिक्रेताहरूले पनि यस वर्ष चुनावका कारण केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेपछि समयमै विद्यालयहरूलाई पाठ्यपुस्तक दिन नसकेको बताएका छन् । पाण्डे पुस्तक पसल भोजपुरका बिक्रेता मोहन पाण्डेले आफूले ७० प्रतिशत पुस्तक सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराएको बताए ।अब ३० प्रतिशत पुस्तक उपलब्ध गराउन बाकी रहेको उनले जानकारी दिए । पाण्डेले भने “ सबैभन्दा धेरै कक्षा ८ र ९ का पाठ्यपुस्तक अभाव छ , पुस्तक अभाव भए पनि विषय मिलाएर पठनपाठन प्रभावित नुहुने गरी विद्यालयहरूलाई पुस्तक दिने गरेका छौ । ”

पुस्तक अभावले विद्यार्थीहरूमा पाठ्यपुस्तक पढ्ने मनोविज्ञान समेत प्रभावित बनेको आमचोक गाउँपालिका दुई यु मा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम कुमार राईले बताए । यस्तो परिस्थिति सृजना हुनुमा सरकार जिम्मेवार रहेको सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष आर के बान्तावाको भनाई छ । 

केही विद्यालयमा पुरानै पाठ्यक्रमबाट पठनपाठन 

जिल्लामा पुस्तक अभाव भएपछि ट्याम्के मैयुङ गाउँपालिका स्थित पशुपति माध्यमिक विद्यालय रिमचिममा पुरानै पाठ्यक्रमबाट पठनपाठन गर्न भइरहेको छ । यो विद्यालयमा परिमार्जित कक्षा ४, ७ र ९ को पुस्तक अभावका कारण विद्यार्थीलाई अन्य सिप अभ्यासमा केन्द्रित गराइएको छ ।

अन्य कक्षाको पठनपाठन पुरानो पुस्तक बाट भए पनि कक्षा ४, ७ र ९ को पुस्तक नहुँदा नियमित पठनपाठनमा समस्या आएको विद्यालयले जनाएको छ । उता रामप्रसादराई गाउँपालिका ४ भुुल्केमा रहेको एकादशी आधारभूत विद्यालयमा अहिले सम्म कुनै कक्षाको पाठ्यक्रम पुगेको छैन ।

पुस्तक उपलब्ध नहुँदा पुरानै पाठ्यपुस्तकबाट शिक्षण सिकाई भइरहेको शिक्षक डम्बर गुरागाईँको बताए । यस्तै जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयहरूले पाठ्यपुस्तक अभावका कारण गर्मी बिदा समेत दिएका छन् ।

गर्मी बिदा ट्याम्के मैयुङ गाउँपालिकामा रहेको तिम्मा माध्यमिक विद्यालयले दिएको हो । सरकारले पाठ्यपुस्तक छपाइमा गरेको लापरबाहीले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकको सिकाइ क्रियाकलापमा समेत समस्या थपिएको छ ।