विराटनगर । विराटनगरमा भएको दुईदिने भारतीय शैक्षिक मेला सकिएको छ । दुई हजारभन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेको दुईदिने शैक्षिक मेला शनिबार सकिएको हो ।

शैक्षिक मेलामा भारतको नाम चलेका कलेज र विश्वविद्यालयहरू गरी ४० वटा कलेजहरूको सहभागिता रहेको नलेज नेटवर्कका एमडी विकास त्रिवेदीले जानकारी दिए ।

नाम चलेका कलेजका प्रतिनिधिहरू स्थानीयस्तरमा प्रत्यक्ष रूपमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो रोजाइअनुसारको विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले जानकारी लिएको उनले बताए ।

‘एउटै छानामुनी भारतको नाम चलेका कलेजका विद्यालयमा आफूलाई मनपर्ने विषयमा जानकारी दिन हामीले शैक्षिक मेला आयोजना गरेका हौं’ नलेज नेटवर्कका एमडी त्रिवेदीले भने, ‘मेलामा विद्यार्थीहरूले भारतको नाम चलेका कलेजहरूको विषयमा भरपूर जानकारी लिएका छन् ।’

नलेज नेटवर्कले यसअघि वीरगञ्ज, जनकपुर र काठमाडौंमा भारतीय शैक्षिक मेला आयोजना गरिसकेको छ । काठमाडौंमा फेरि जुन २९ र ३० तारिखमा भारतीय शैक्षिक मेला आयोजना गरिने भएको छ ।