धरान । पब्लिक हाईस्कुल धरानको भाइस क्याप्टेनमा अजय घतानी र प्रतिमा तामाङ विजयी भएका छन् ।

२०७९ साल असार ३ गते शुक्रबार लोकतान्त्रिक पद्धतिद्वारा मतदान सम्पन्न गराई भाइस क्याप्टेन छनौट गरिएको हो । नेपाल सरकारले हरेकपल्ट निर्वाचनमा खर्च गर्छ तर, धेरै मतपत्र बदर भएको सुनिन्छ । त्यसैले मतदान कसरी गर्ने र कुन अवस्थामा मतपत्र बदर हुनसक्छ भन्ने कुरा सिकाउनका लागि यो मतदान गरिएको प्रधानाध्यापक इन्द्र मोहन झाले बताए ।

विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियामा के के हुन्छ, मतदान प्रक्रिया सुरुवात कहाँबाट हुन्छ, उम्मेदवारी दर्ता प्रक्रिया, भोट अपिल कसरी गर्ने, मत कसरी खसाल्ने, गणना प्रक्रियाबारे जानकारी दिनु यसको मुख्य उद्देश्य रहेको निर्वाचन अधिकृत शिक्षक सन्तोष रायले जानकारी दिए ।

सामाजिक विषयमा मतदाता शिक्षा पढाइ हुने गरेको र लोकतान्त्रिक पद्धतिबाट आफ्नो प्रतिनिधि कसरी छनौट हुन्छ भन्ने कुरा सिकाउनका लागि पनि यो मतदान गराइएको विषय शिक्षक तथा मतदान अधिकृत केशव भट्टराईले जानकारी दिए ।

कक्षा ६ देखि कक्षा १० सम्मका विध्यार्थीहरूलाई सहभागी गराइएको मतदानमा १ हजार ५८ मतदाता रहेका थिए । जम्मा ८७.६० प्रतिशत  ९ सय २६ मत खसेकोमा  छात्रतर्फ प्रशान्त शेर्पालाई पछि पार्दै अजय घतानी ५ सय ७० मत ल्याएर भारी मतले विजयी भएका छन् ।

छात्रातर्फबाट प्रतिद्वन्द्वी नितिशा घिमिरेलाई २१ मतले पछि पार्दै ४ सय २३ मत ल्याएर प्रनिता तामाङ विजयी भएकी छन् । छात्रतर्फ १ सय २३ मत र छात्रातर्फ १ सय १ मत बदर भएको थियो ।
–गोमा कुलुङबाट

public-hi

public-vote