धरान । एम्स स्काउट क्र्युको आयोजनामा शनिबार सम्पन्न एक दिवसीय स्काउट क्याम्पमा अरनिको समूह च्याम्पियन बनेको छ । अरनिको समूह एम्स स्काउट क्र्युअन्तर्गतकै समूह हो ।
धरान–१७ साकेला पार्कभित्र आयोजित कार्यक्रममा तीनवटा क्र्युका ९ समूहबीचमा प्रतिस्पर्धा गराइएको थियो । उनीहरूबीच विना भाँडा खाना बनाउने, खाना पकाउने, चिया पकाउने र ट्यालेन्ट शो प्रतियोगिता गरिएको थियो ।
निर्णायकहरूको निर्णयअनुसार अरनिको समूह च्याम्पियन बनेको कार्यक्रम संयोजक एवम् नेपाल स्काउटका प्रदेश १ तदर्थ समिति सदस्य हेमन्त भण्डारीले जानकारी दिए । विना भाँडा खाना बनाउनेतर्फ सीता समूह प्रथम बन्दा त्रिभुवन समूह दोस्रो र अमरसिंह समूह तेस्रो बनेको छ । त्यस्तै खाना पकाउनेमा सीता समूह नै प्रथम बन्दा पासाङल्हामु दोस्रो र पृथ्वीनारायण समूह तेस्रो बनेको छ ।
कार्यक्रम संयोजक भण्डारीका अनुसार चिया पकाउनेमा अमरसिंह समूह पहिलो बनेको छ । त्यस्तै सैनिक स्काउट क्र्यु दोस्रो र अंशुवर्मा समूह तेस्रो बनेको छ ।
ट्यालेन्ट शोमा अरनिको समूह पहिलो बन्दा त्रिभुवन समूह दोस्रो र सीता समूह तेस्रो बनेको छ । कार्यक्रममा समूहले गरेका गतिविधिलाई निर्णायक स्काउटर सुमन महतो, सूर्यकुमार सुनुवार, साइमन महर्जन, गोपाल पौडेल र धरान नगर कमिटी सदस्य ओमकृष्ण उदासले निर्णय गरेका थिए ।
कार्यक्रममा एम्स स्काउट क्र्यु, सैनिक स्काउट क्र्यु र वराहक्षेत्र ओपन स्काउट क्र्युका ९ वटा समूहबीच प्रतिस्पर्धा भएको कार्यक्रमका सभापति नेपाल स्काउट धरान नगर कमिटीका अध्यक्ष अनुप योञ्जनले बताए ।
कार्यक्रममा विजेता टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई, नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समिति संयोजक रवि खनाल, किरात राई यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राई, सचिव नवीन राई र अध्यापक राजेश विद्रोहीले पुरस्कार वितरण गरे । कार्यक्रममा १३ रोभर र २२ रेञ्जर सहभागी बनेका थिए ।
कार्यक्रमको समापनपूर्व नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, विजयपुर हस्पिटलका व्यवस्थापक इन्दु योञ्जन र ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले अनुभव शेयर गरेका थिए ।