विजयपुर । सुकुम्बासी समस्या समाधानका लागि भराएको फारम धरान उपमहानगरपालिका–५ का तत्कालीन अध्यक्षले हस्ताक्षर नगर्दा निस्सा (फोटोकपी) दिने काम ढिलाइ भएको छ ।

धरान–५ का निवर्तमान वडाध्यक्ष सन्तोष लिम्बूले सुकुम्बासीहरूले भरेको  फाराममा हस्ताक्षर नगर्दा सुकुम्बासीलाई निस्सा बाँड्ने काममा ढिलाइ भएको सम्बन्धित निकायले जनाएको छ । लिम्बूले हस्ताक्षर नगर्दा सुकुम्बासीको तथ्याङ्क कम्प्युटरमा प्रविष्ट गर्न ढिलाइ भएको हो ।

धरान–५ का सचिव राम पौडेलका अनुसार वडा नं. ५ मा कुल ३८ सय सुकुम्बासीको फाराम भराइएको छ । उनका अनुसार करिब १८ सय फाराममा मात्र निवर्तमान वडाध्यक्ष लिम्बूले हस्ताक्षर गरेका छन् । अन्य २ हजार फाराममा भने हस्ताक्षर गर्न बाँकी छ । सचिव पौडेलले निवर्तमान अध्यक्ष लिम्बूलाई स्थानीय निर्वाचनअघि नै हस्ताक्षरका लागि फाराम दिए पनि हस्ताक्षर नगरेको बताए ।

उनले हस्ताक्षर गर्न ताकेता गर्दा अध्यक्ष लिम्बूले आफूलाई तपाईंहरूलाई किन हतार ? हामी गरिहाल्छौँ नि भन्ने जवाफ दिने गरेको बताए । उनले १ हप्ता पहिले निवर्तमान अध्यक्ष लिम्बूकै घरमा पुर्याइदिए पनि हालसम्म हस्ताक्षर नगरेको बताए ।

उनले भने, "१ हप्ता भयो बोरामा हालेर घरमा पुर्याएको ।’ यता निवर्तमान अध्यक्ष सन्तोष लिम्बूले भने सबै फाराममा निर्वाचनअघि नै हस्ताक्षर गरेको दाबी गरे । उनले आफूले राजनीमा दिनुभन्दा पहिले हस्ताक्षर गरेको बताए । उनले आफ्नो घरमा पनि फाराम नआएको बताए । उनले भने, "मेरो घरमा फाराम लिएर आएको छैन ।’

उनले दुःख गरेर फाराम भराएको किन हस्ताक्षर नगर्नु भन्दै सचिव र वर्तमन वडाध्यक्षलाई बुझ्नुपर्ने बताए । उनले घरमा फाराम ल्याए आफूले हस्ताक्षर गरिदिने बताए । यता वडासचिव पौडेलले घरमा पुर्याएको दाबी गर्दै आएका छन् । उनले भने, "मैले भर्खरै पनि सम्पर्क गरेँ । सही गर्दैछु भन्नुभयो ।’ वर्तमान अध्यक्षसहित सदस्य र कर्मचारीलाई पनि फाराम बोरामा हालेर पुर्याएको जानकारी भएको बताए ।

उनले भने, "कर्मचारीले मोटरसाइकलमा पुर्याएकोहो ।’ धरान उपमहानगरपालिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी सम्बन्धी सम्पर्क व्यक्ति वेदप्रसाद सापकोटाले वडा नं. ५ को फाराम नआउँदा सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा ढिलाइ भएको बताए । उनले भने, "फाराम नआउँदा कम्प्युटरमा प्रविष्ट गर्न पाइएन । कर्मचारी त्यतिकै बस्नु परेको छ ।’ प्रविष्टी गर्ने कार्य छिटो भए निस्सा बाँड्न सकिने उनले बताए ।

उनले भने, "प्रविष्टी गरिसकेपछि अन्य  काम अगाडि बढ्छ ।’ फाराम नआउनाले अन्य काम पनि रोकिएको उनले बताए ।