भोजपुर । भोजपुरको कावा खोलामा निर्माणका क्रममा भाँचिएको पुल आठ महिना सम्म पुन निर्माण नहुँदा स्थानिय मारमा परेका छन् । जिल्लाको रामप्रसादराइ गाउपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको पुल पुन निर्माण नहुँदा स्थानिय मारमा परेका हुन् ।

पुल नबन्दा स्थानिय जनता ज्यानको जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । बाढी आएको बेला सवारी साधन तार्न समेत समस्या हुने गरेको छ । अहिले आठ महिना अघि भाँचिएको पुल खोलाबाट हटाउन बाहेक अरु कुनै पनि काम अघि बढ्न नसकेको स्थानीयले बताए । पुल भाँचिएको विषयमा गत मङ्सिरमा भएको सर्वपक्षीय छलफलमा पुनःनिर्माणको काम यस वर्षको वर्षा याम अघि नै सक्ने सहमती भएको थियो ।

यता प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले भने आगामी चैत्र महिना सम्ममा पुनःनिर्माण गरेर सरकारलाई पुल जिम्मा लगाउने जानकारी दिए । पुनः निर्माणको काम चाँडो गर्ने योजना रहे पनि काम गर्दै जादा केही ढिला भएको उनले स्विकारे ।

कावा खोलाको पुल नेपालमा परीक्षणका रुपमा बनिरहेको हो । निर्माणको क्रममा पुल भाँचिएको विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताए । उनले भने “पुल निर्माणका क्रममा भाँचिनुु दुःखद् हो , यो बिषयमा अनुसन्धान भैरहेको छ , बर्षा याम शुरु भएकाले निर्माणको काममा ढिलाई भएको छ , बर्षायाम सकिए पछि काम शुरु हुन्छ ।” पुल बन्ने आशामा बसेका स्थानीय भने निर्माणकै क्रममा भाँचिएपछि दुखित बनेका छन् ।

उनीहरु अहिले खोलाको भेलमा ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । पैदलयात्रु सँगै सवारीसाधनलाई समेत खोला वारपार गर्न निकै कठिन रहेको स्थानिय रमेश कुलुङले सुनाए । कुलुुङका अनुसार कतिपय अवस्थामा मोटरसाईकल बोकेर तार्नुपर्ने अवस्था छ । चडेर खोलाबाट तार्दा पानी पसेर समस्या हुने भएकाले बोकेर मोटरसाईकल तार्ने गरिएको हो ।

यो पुल स्वीस सरकारको पाच करोड लगानीमा २०७६ फागुन १२ मा शिलान्यास गरेर निर्माण थालिएको हो । करिब ९० प्रतिशत काम सकेर ढलान गरेपछि पुल बीचमा भाँचिए पछि समस्या भएको छ । पुल गलत प्राविधिक डिजाइनका कारण भाँचिएको स्थानीयको आरोप छ ।

भोजपुर–मानेभञ्ज्याङ–रानीबास–घोडेटार सडक खण्डमा बनिरहेको पुल २०७७ असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माण सुरु हुनुपूर्व ८० वर्षको आयु हुने र भूकम्प प्रतिरोधी बन्ने गरी पुलको डिजाइन भएको इञ्जिनीयरले बताएका छन ।

पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको साथमा दुवैतर्फ एक दशमलव २० मिटर पैदल यात्रु हिँड्ने स्पेस सहितको डिजाइनमा उल्लेख छ । यो पुल पुन निर्माण भए पछि भोजपुरलाई तराईका जिल्ला सग जोडिन सहज हुने हतुवागढी गाउपाििलका अध्यक्ष प्रेम कुुमार राईले बताए ।

कावा खोलाको पुल सगै चुहारको दुधकोशी  नदिमा पुल निर्माणको काम सम्पन्न भए पछि भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिने अध्यक्ष राईले जानकारी दिए । यो रुट भोजपुरलाई तराईसग जोड्ने सबैभन्दा छोटो बाटो रहेको सडक विभागले जनाएको छ ।