विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको जाँच गर्ने ब्रेथलाइजर मेसिन बिग्रिएपछि विराटनगरमा सवारी जाँच प्रभावित भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र प्रहरीले प्रयोग गर्दै आएको ब्रेथलाजर मेसिन बिग्रेको लामो समय भइसक्दा पनि मर्मत नभएपछि मापसे गरी सवारी चलाउनेहरुलाई हाइसञ्चो भएको छ ।
मापसे गरे– नगरेको जाँच गर्ने ब्रेथलाइजर मेसिन मोरङ ट्राफिकसँग १२ वटा थियो । अहिले भएको सबै ब्रेथलाइजर मेसिन बिग्रिएर थन्किएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बिग्रेको ब्रेथलाइजर मेसिन काम नलाग्ने भएकोले नयाँ माग गरिएको जानकारी दिए ।
मेसिन बिग्रिए पनि मापसे चेकिङ्ग भने नरोकिएको उनले बताए । अन्य माध्यमबाट पनि चेकिङ गर्न सकिने भएकाले मापसे गरी सवारी हाँक्ने कारबाहीको दायराबाट उम्कन नपाएको उनको भनाई छ । ‘मापसे जाँच गर्ने ब्रेथलाइजर उपकरणहरू बिग्रिए पनि चेकजाँच भइरहेको छ,’ उनले भने, ‘ब्रेथलाइजर मेसिन बिग्रिए पनि मापसे चेकिङ रोकिएको छैन । अन्य माध्यमबाट पनि जाँच गर्न सकिने भएकाले निरन्तरता दिइरहेका छौं ।’

मापशे जाँच गर्ने ब्रेथलाइज मेसिन बिग्रीएपछि ट्राफिक प्रहरीले सुगेर पनि मापसे जाँच गर्ने गरेका छन् । ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुँघेर मादकपदार्थ सेवन गरे नगरेका बारेमा पत्ता लगाउन बाध्य भएका छन् । ट्राफिक प्रहरीका अनुसार चालकको मुख सुघ्ने विषयमा कहिले काही त ठूलै विवाद उत्पन्न हुने गर्दछ ।
चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको डियुटिमा खटिएका प्रहरीको भनाई छ । ‘अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ’, टियुटिमा खटिएका एक प्रहरीले भने,
‘हामी खाएको मान्छे मदिरा नपिएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ, पत्ता लगाउन सजिलो हुन्छ ।’
जिल्लामा ब्रेथलाइजर मेसिन किन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले स्थानीय तह र प्रदेश सरकार सँग आग्रह गरे पनि उक्त मेसिन किन्नका लागि रकम कहीँकतैबाट नआएको ट्राफिक प्रहरीको गुनासो छ । करीब २० देखि ३० हजार हजारमा किन्न सकिने उक्त मेसिन नहुँदा यहाँका ट्राफिक प्रहरीलाई निकै समस्या हुँदै आएको विषयमा सबै निकायमा खबर गरे तर कसैले किन्ने प्रयास नगरेको उनीहरुको भनाई छ । सबैका लागि काम लाग्ने मेसिन किन्न सरकार उदासिन भएको प्रहरीको गुनासो छ । मेसिन नहुँदा मुखले सुगेर मापसे चेक गर्दा प्रहरीले बिरामी पर्ने बेला भइसकेको उनीहरुले बताए ।