धरान । आउँदो असोज २८ गतेदेखि हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरीको धरानमा फुटबल र बास्केटबलका खेलाडी छनोट गरिएका छन् ।
कात्तिक ३ गतेसम्म पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले जिल्ला जिल्लामा खेलाडीहरू छनोट हुन लागिरहेको हो । नवौँ राष्ट्रिय खेलकुदमा ३६ वटा खेल समावेश गरिएका छन् । मङ्गलबार धरान–१७ स्थित एन्फा एकेडेमी परिसरमा फुटबलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको हो ।
महिलातर्फ ४८ जना खेलाडीहरू छनोटका लागि उपस्थित भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) जिल्ला सुनसरीका अध्यक्ष नवीन राईका अनुसार महिला तथा पुरुष फुटबलमा सुनसरीबाट १६–१६ जना खेलाडी र एकजना व्यवस्थापक र एक जना प्रशिक्षक गरी कुल १८–१८ जना छनोट गरिने भएको छ । फाइनल नामावली भने भदौ ९ गते सार्वजनिक गरिने उनले जानकारी दिए ।
सुनसरीको धरान, इटहरी, वराहक्षेत्र, इनरुवा, दुहबीका खेलाडीहरू सहभागी भएका थिए । छनोट भएका खेलाडीहरू प्रदेशस्तरमा भिडन्त गर्नेछन् । त्यहाँबाट छनोट भएका खेलाडीले मात्रै राष्ट्रिय खेलकुदमा सहभागी हुन पाउनेछन् । यस्तै धरान–१६ स्थित धरान रङ्गशालाको कभर्ड हलमा बास्केटबलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।
तर, छनोट भएका खेलाडीहरूको नामावली भने आज (बुधबार) मात्रै प्रकाशित गरिने भएको छ । उनका अनुसार पुरुषतर्फ ३२ जना र महिलातर्फ २१ जना खेलाडीहरू छनोटमा सहभागी भएका थिए । छनोट कमिटीमा प्रशिक्षक राईसहित रञ्जित लिम्बू र रोशन राई छन् । कार्यक्रममा सुनसरी खेलुकद विकास समितिका अध्यक्ष दीपक राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान–१६ को इन्डोर कभर्ड हलको अवलोकन तथा निरीक्षण गरेका छन् । इन्डोरको प्रदेशस्तरीय छनोट धरानमा हुनुपर्ने खेलाडी तथा प्रशिक्षकहरूले माग राखेको प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । अन्यत्र धरान जति पनि सुविधा नभएकाले इन्डोर खेलहरूको छनोट धरानमा गरिनुपर्ने माग खेलाडी तथा प्रशिक्षकहरूको रहेको उनले बताए ।