धरान । २३ औँ संस्करणको बूढासुब्बा गोल्डकपमा नयाँ टिमको आगमनलाई लिएर पत्रकारहरूले प्रश्न उठाएका छन् । कोरोना महामारी र विजेता टिमलाई जितबापतको रकम वितरण गर्न नसकेकोमा दुई वर्ष गोल्डकप स्थगित भएको थियो ।
यसपटक फागुन १३ गतेदेखि हुन लागेको देशकै पुरानो गोल्डकप बूढासुब्बामा ‘ए’ डिभिजन लिग असम्बद्ध टिमहरू सहभागी गराउन लागेपछि आइतबारको पत्रकार सम्मेलनमा पत्रकारहरूले प्रश्न उठाएका हुन् । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लबजस्ता क्लबहरूको अनुपस्थितिप्रति पत्रकारले सोधेको प्रश्नमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले भने, ‘यसपटक मनाङलाई हामीले आमन्त्रण नगरेकै हो । यसपटक क्लब मुनाफामा लिएर जान चाहन्छ । ठूला क्लबका नाममा टिएडिएबापत धेरै रकम माग गर्छन् । जसले गर्दा सधैँ क्लब घाटामा गइरहेको छ ।’ उनले पत्रकारको जिज्ञासामा ‘मनाङजस्ता क्लबलाई अहिले पनि बोलाउन सक्ने’ तर यसपटक आमन्त्रण नगरिएको दाबी गरे । ‘क्लबले बोलाउनै नसक्ने भन्ने होइन, अहिले पनि बोलाउन सक्छ, उनीहरू पनि आउन तयार छन् तर, हामीले नै नबोलाएको हो’–उनले भने ।
यसपटकको बूढासुब्बा ‘ए’ डिभिजन लिग खेल्नेमध्ये नेपाल पुलिस क्लबमात्रै सहभागी हुँदै छ । त्यसबाहेक आमन्त्रित टिममा बङ्गलादेशको केबीपीएस, भारतको युके एफसी, केमरुनको एभेनियर एफसी छन् । त्यसबाहेक बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब छ । नेपाल पुलिस क्लब पाँचपटकको विजेता हो । त्यसो त साविक उपविजेता पनि हो । धरानमा मनाङ, थ्रीस्टारजस्ता क्लबहरूलाई दर्शकले रुचाउने गरेका छन् । ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूको सहभागिता कम भएको विषयलाई धेरैले फरक ढङ्गले हेरेका छन् । त्यति मात्रै नभई आयोजकको मैत्री क्लब पोखराको सहारालाई पनि यसपटक आमन्त्रित गरिएको छैन ।
उद्घाटन खेल धरान एफसी र पाहुना टिम युके एफसीबीच हुने अध्यक्ष राईले बताए । फागुन २० गतेसम्म चल्ने बूढासुब्बाको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी दिइनेछ । यस्तै उत्कृष्ट गालेरक्षक, रक्षापङ्क्ति, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही नगद २५ हजार रुपैयाँ दिइने भएको छ । सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँसहित ट्रफी दिइने महासचिव प्रताप तामाङले जानकारी दिए ।
गोर्खा बु्रअरीको टुबोर्ग बियर मुख्य प्रायोजक तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता हुन लागेको हो । यसपटकदेखि पत्रकारहरूलाई पनि अवार्ड वितरण गरिने अध्यक्ष राईले बताए । अवार्डका लागि भने पत्रकारहरूकै संयोजकत्वमा समिति गठन गरिएको छ । यसपटक अनलाइन टिकट काट्न र दैनिक खेलबारे जानकारी प्राप्त गर्ने गरी कोड आइटी नामक एप निर्माण गरिएको छ । उक्त एप डाउनलोड गरी बूढासुब्बाको विविध जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।