धरान/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीको बिहीबारबाट खेलकुद सप्ताह सुरु भएको छ ।
सुनसरीका विभिन्न स्थानमा खेलकुदका विभिन्न कार्यक्रम गर्दै सुरुवात गरिएको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले जानकारी दिए । उनका अनुसार धरानमा बिहीबारबाट दुईवटा स्कुलमा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको छ । धरानको समिट सेकेन्डरी बोर्डिङ स्कुलको कोर्टमा बास्केटबल सुरु भएको हो ।
बास्केटबलमा सुनसरीका चारवटा विद्यालयका ४ टिम सहभागी थिए । जसअन्तर्गत होलिल्यान्ड इन्टरनेसनल स्कुल र समिट फाइलनमा पुगेका छन् । त्यस्तै महिलातर्फ होलिल्यान्ड र समिटको टिम फाइलनमा पुगेको छ । फाइनल आज (शुक्रबार) हुँदै छ ।
यता डिपोको कोर्टमा भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रबाट ७ टिम सहभागी छन् भने छात्रामा पनि ७ टिम नै सहभागी बनेको छ । प्रतियोगितामा डिपो, युनिक एकेडेमी, सुनसरी क्रिस्टल, समिट, रामधुनी, पूर्वाञ्चल बोर्डिङ, महेन्द्र मेमोरियल, जीवनज्योति बोर्डिङ स्कुल सहभागी छन् ।
यस्तै वराहक्षेत्र नगरपालिकाको भरौलमा फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबलमा मुनबिन, समिट, विजयपुर, युनिक, जीवनज्योति, डिपो, पशुपति, हिमशिखर, रामधुनी बोर्डिङ, सुनसरी क्रिस्टल, पूर्वाञ्चल, महेन्द्र मेमोरियल सहभागी छन् । यस्तै इन्डोर क्रिकेट प्रतियोगितामा पनि हुँदै छ । यस्तै वक्तृत्वकला प्रतियोगिता गरी फागुन १५ गते कार्यक्रम समापन गरिने जनाएको छ ।