धरान । आयोजक धरान फुटबल क्लबलाई पाहुना टोली युकेएफसी भारतले फेरि टाइब्रेकरमा पराजित गर्दै २२ औँ संस्करणको नतिजा दोहोर्याएको छ ।

यही टोलीसँग २२ औँ बूढासुब्बा गोल्डकपमा पनि टाइब्रेकरमा आयोजक ४–२ गोलले पराजित भएको थियो । शनिबारको २३ औँ टुबोर्ग बूढासुब्बा गोल्डकपमा पनि युकेएफसीसँगै टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । गतवर्ष निर्धारित समयसम्म १–१ को बराबरी खेलेर टाइब्रेकरमा गएको आयोजक यसपटक गोलरहित बराबरीमा रोकियो । टाइब्रेकरमा दोर्जे शेर्पा, रोमन लिम्बू र मदन लाबुङले गोल गर्दा रिवस मास्केको प्रहार विपक्षी गोलरक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गरे ।

रिवस पोखरामा सम्पन्न राष्ट्रियस्तरको फुटसलमा चम्किने खेलाडीमध्येका एक हुन् । धरानको राइजिङ फुटसल क्लबबाट प्रतिनिधित्व गरेका उनको टिम तेस्रो भएको थियो । धरानसँग जब कि सुरज विक, रोमन लिम्बू, दोर्जे तामाङ, सुजन शर्मा र रोमन लिम्बू ‘ए’ डिभिजन खेलिसकेका अनुभवी खेलाडी थिए । शनिबारको उद्घाटन खेलमा दोर्जे चम्किए पनि उनका केही प्रयास विफल भए ।

धरानले ७ वटा कर्नर किकको अवसर पाएको थियो । पाहुना टोलीले ५ वटा कर्नर मात्रै पाएको थियो । खेलको पूर्वाद्र्धमा अधिकांश समय पाहुना टोलीको खुट्टामा बल रहेको थियो । ९० मिनेटको अवधिमा झण्डै ६०–४० को अवस्था रहेको थियो । धरानको सुरुदेखि नै लय खस्किँदा उत्तराद्र्धमा पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन ।

फलतः टाइब्रेकरमा पुरानै नतिजा दोहोर्याउन पुग्यो । दुवै टिमले खेलमा सन्तुलन कायम गर्न सकेका थिएनन् । दुवै टिमको खेलशैली परम्परागत थियो । लामो लामो पास फाले पनि खेलाडीले बल नियन्त्रण गर्न नसक्दा गोलपोष्टमा आधा दर्जन पनि प्रहार हुन सकेन । आयोजकले २६ मिनेट, २८ मिनेट र ४४ मिनेट, दोस्रो हाफको ४ मिनेट र ३७ मिनेटमा अवसर पाएको थियो । यता पाहुना टोलीले ३० मिनेट, ३१ मिनेटमा अवसर पाएको थियो । आयोजक हालसम्म पाँच पटक उपाधि होडमा पुगेको भए पनि उपाधिविहीन हुँदै आएको छ ।

टिमका प्रशिक्षक सागर घिमिरेले खेल अगाडिसम्म पाहुना टोलीलाई सहजै जित्ने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो जित्ने सम्भावना छ । यसपटक २०–२५ दिनसम्म निरन्तर प्राक्टिस गरेका छौँ ।’ तर, खेल समाप्तिसँगै उनले निर्धारित समयसम्म टिमले राम्रो खेले पनि स्कोर गर्न नसक्दा हार बेहार्नुपरेको बताए । उनले भने, ‘चान्सहरू पाए पनि बल पोलमा ठोक्कियो । गेममै जित्नुपर्ने थियो । ब्याडलक नै भन्नुपर्छ । टाइब्रेकरमा फिप्टी फिप्टी हो ।’

आयोजक पहिलो, दोस्रो, चौथो, आठौँ र २१ औँ को उपविजेता हो । यसपटक बर्दिबासमा सम्पन्न बर्दिबास मेयर गोल्डकपको फागुन ४ गते सम्पन्न खेलमा अफ्रिकन युनाइटेडसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । आयोजकको ठूलो प्रतियोगितामध्ये यो तेस्रो प्रतियोगिता हो । यसअघि पोखरामा सम्पन्न प्रतियोगितामा सेमिफाइलनमा पराजित भएको थियो । यता पाहुना टोली युकेएफसीसँग भारतीय लिग खेलेका दुई खेलाडी थिए ।

जसमध्ये सन्दीप लिम्बू र सुवर्थो सोरेन हुन् । हालसालै युकेएफसीले भुटानको सीमास्थित वीरपाडामा सम्पन्न सहिद गोल्डकपमा विजेता बनेको प्रशिक्षक उर्गेन लामाले जानकारी दिए । उनले धरानको टिम बलियो हुँदाहुँदै पनि टाइब्रेकरमा गोलरक्षकको उत्कृष्ट बचाउका कारण जित निकालेको बताए । युकेएफसी ३५ वर्षअघि कर्साङमा दर्ता भएको क्लब हो ।

युकेएफसीले सन् २००२ मा गभर्नर्स कप जितेको थियो । २२ औँ बूढासुब्बामा सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग अन्तिम चारमा पराजित भएको थियो । त्यसबेला ३–० गोलले पराजित हुँदै घर फर्किएको थियो । ‘यो जितसँगै हाम्रा केही राम्रा खेलाडीहरू सेमिफाइलनमा आउँदैछन्’ उनले भने, ‘अहिले सिक्किम प्रिमियर लिग भइरहेकाले हाम्रा खेलाडी त्यहाँ छन् ।’

धरानमा यसपटक ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूको उपस्थिति न्यून छ । गतवर्षको साविक विजेता तथा पाँचपटकको बूढासुब्बा विजेता नेपाल पुलिस क्लबमात्रै सहभागी छ । फागुन १९ गतेदेखि ‘ए’ डिभिजन लिग हुन लागेकाले पनि नाम चलेका क्लबहरूको अनुपस्थिति भएको हो । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङले गरेका थिए भने खेलमा २३ वटा प्याराग्लाइडिङ पनि उडाइएको थियो । प्रतियोगिता फागुन २० गतेसम्म हुँदै छ । ८ टिम सहभागी रहेको बूढासुब्बामा आज (आइतबार) बागमती युवा क्लब सर्लाहीविरुद्ध अफ्रिकन टिम एभिनियर एफसीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।