भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

मङ्गलबार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि हातपारेको हो ।

जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मच्छिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा मच्छिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए ।

टाइब्रेकरमा आर्मीका सेसेहाङ आङ्देम्बेको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुसाल र सुशान्त चौधरीले गोल गरे । टाइब्रेकरमा मच्छिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दीपेश घलेले गोल गरे ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट अतिरिक्त समय थप गरियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मच्छिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउनु पर्यो ।

खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मच्छिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनीहरू मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्चगोलकर्ता मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदयीमान खेलाडी मच्छिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले नगद २५ हजार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए । यसैबीच आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरूप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान ग¥यो ।