धरान । होराइजन बास्केटबल रनिङ कपको सातौँ संस्करण फागुन २१ गतेदेखि हुने भएको छ । 

आयोजक होराइजन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा साविक विजेता टाइम्स बास्केटबल क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मधेश प्रदेश, मोरङ बास्केटबल सङ्घ, होलिल्यान्ड धरान र आयोजक होराइजन क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता घोपा मावि धरान–१७ को बास्केटबल कोर्टमा हुँदै छ । 

प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडी, उदयीमान खेलाडी र प्रत्येक खेलको म्यान अफ दी म्याच विजेतालाई पुरस्कार वितरण गरिने अध्यक्ष श्रीभक्त राईले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उदयीमान खेलाडीलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ । 

यसपटक प्रतियोगितामा आयोजकले सहयोगी दाताहरूको लागि उद्घाटन र समापनको दिन ५० हजार मूल्य बराबरको दुईवटा मोबाइल उपहार प्रदान गरिने भएको छ । लक्की ड्रमार्फत् सहयोगी दाताहरूमध्ये एकजनाले मोबाइल उपहार प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए । फाइनल फागुन २७ गते हुने निवर्तमान अध्यक्ष वसन्त राईले जानकारी दिए । २०६९ सालदेखि सुरु भएको प्रतियोगितामा दुई–दुई पटक आयोजक र इमोर्टल क्लब धरानले उपाधि जितेको थियो । यस्तै पाँचौँ उपाधि त्रिभुवन आर्मी क्लब र छैठौँ उपाधि टाइम्स क्लबले जितेको थियो ।