विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा सुरु भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केही खेलहरू तोकिएको मापदण्डविपरीत खेलाएको पाइएको छ ।

विराटनर–८ स्थित महेन्द्र माविको खेलमैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत पर्ने दौडमा आयोजकले मापदण्डविपरीत खेलहरू खेलाएको पाइएको हो । दौडमा २ सय र चार सय मिटरको ट्रयाक हुनुपर्ने अन्तर्राष्ट्रियरूपमा खेलकुदको मापदण्ड तय गरेको छ । तर, महेन्द्र

माविमाविको खेलमैदानमा तयार गरिएको दौडको ट्रयाक एक सय मिटरको रहेको छ । जुन खेलकुदले तोकेको मापदण्डविपरीत हो । ८ वटा ट्रयाकको चौडाइ पनि प्रत्येकको चार फिटको हुनुपर्दछ । जम्मा ३२ फिट हुनुपर्ने हो । तर, यहाँ प्रत्येक ट्रयाक पनि तीन फिटको मात्र रहेको छ ।

यसरी मापदण्डविपरीत ट्रयाकको चौडाइ पनि साँघुरो बनाउँदा खेलाडीहरू दौडिँदा ठोक्किने गरेको खेलाडीहरू बताउँछन् । कम दूरीको ट्रयाक बनाउँदा खेलाडीहरूलाई दौडमा समस्या हुने गरेको एथलेटिक्सका खेलाडी सन्तोष साफीले बताए । ‘४ सय मिटरको दौड पनि राखेको छ । अब चार सय मिटरको दौडको दूरी पूरागर्न चार फन्को लगाउनुपर्ने हुन्छ ।

जुन खेलाडीहरूको लागि कठिन हुन आउँछ’ उनले भने, ‘दुई सय मिटरको ट्रयाक बनाएको भए चार सय मिटर पूरा गर्न दुई चोटी घुम्दा हुने थियो ।’ कम दूरीको ट्रयाक बनाउँदा दौडमा खेलाडीहरूलाई असहज हुने उनले बताए । ‘दौडमा एउटै ट्रयाकमा खेलाडीहरू दौडिनुपर्ने हुन्छ’ उनले भने, ‘तीव्र गतिमा खेलाडीहरू दौडिएका हुन्छन् ।

कम दूरीको ट्रयाकमा फन्को लगाउने बेलामा रोकिनुपर्ने हुनाले त्यसबेला समस्या हुने गर्दछ ।’ त्यसैले पनि वैज्ञानिक तरिकाले अन्तर्राष्ट्रिय खेलकुदको नियमअनुसार दौडमा २ सय र ४ सय मिटरको ट्रयाक बनाएको एथलेटिक्स सङ्घ मोरङका अध्यक्ष दिनेशलाल कर्णले बताए । महानगरपालिकाले अहिले खेलाइरहेको दौड तोकिएको मापदण्डलाई लत्याएर आफूखुसी खेलाएकोले एथलेटिक्स सङ्घले विरोध जनाएको छ । ‘हामीले सुरुमै दौडमा १ सय मिटरको ट्रयाक हुँदैन भनेका थियौं’ उनले भने, ‘हामीले दिएको सुझावलाई महानगरपालिकाले बेवास्ता गरेर खेलाएको छ । त्यसको जिम्मेवारी महानगरपालिकाले लिनुपर्दछ ।’

विराटनगरमा छनौट चरणको राष्ट्रपति शिल्डमा आयोजकले मनपरी खेलहरू खेलाएको खेलाडीहरूको गुनासो रहेको छ । सटपुट र ज्यावलिनथ्रो पनि  मापदण्डअनुसार नलेखाएको खेलाडीहरूको भनाइ छ । खेलाडीहरूले मान्यताप्राप्त प्रशिक्षक पनि नराखी महानगरपालिकाले दुई दिन तालिम दिएकालाई ल्याएर खेलाएको उनीहरूको आरोप छ ।

महानगरपालिकाले कम खर्चमा प्रतियोगिता सम्पन्न गरी बजेट कुम्ल्याउन खोजेको एथलेटिक्स सङ्घका अध्यक्ष कर्णको भनाइ छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका १७ सामुदायिक र ४ वटा संस्थागत गरी २१ वटा विद्यालयका ९ सय खेलाडीहरूले आधा दर्जन बढी खेलहरूमा भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत फाइनल शनिबार हुनेछ ।

छनौट भएका टिम जिल्ला हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितासम्म खेल्न पुग्नेछन् । तर, छनौट चरणका खेलहरू मापदण्डअनुसार आयोजकले नखेलाउँदा जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरका खेलहरूमा जान कठिनाइ हुने चिन्ताले सताएको खेलाडीहरू बताउँछन् । ‘हामीले तोकिएको मापदण्डअनुसार खेलहरू खेलाउन बारम्बार माग गरेका हौं तर, आयोजक विराटनगर महानगरपालिकाले बजेट जोगाउन साँघुरो खेलमैदानमा ल्याएर खेलहरू खेलाएको छ । यो टालटुले काम भएको छ’ –एक जना खेलाडीले भने ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सङ्घले १ लाख र प्रदेश सरकार र विराटनगर महानगरपालिकाको ६ लाख बजेटमा प्रतियोगिता भएको हो । विराटनगर महानगरपालिकाको खेलकुद शाखाकी अधिकृत तारा शर्माले खेलमैदान अभावको कारणले दौड खेलमा मात्र मापदण्डअनुसार नभएको स्वीकार गरिन् ।

‘यसअघि सहिद रङ्गशालामा हुँदा पर्याप्त हुने गरेको थियो । यसपटक विराट गोल्डकपको कारणले त्यहाँको मैदान प्रयोग गर्न पाइएन । अरू ठाउँमा सहज नभएको कारणले साँघुरो ठाउँमा प्रतियोगिता गर्नुपरेको हो’ उनले भनिन्, ‘राष्ट्रपति रनिङ शिल्डमा सहभागी सबै विद्यालयको रायअनुसार खेलहरू निष्पक्ष खेलाइएको छ ।’