वराहक्षेत्र । वराहक्षेत्रका श्रमिक महिलासहित ९ जना सम्मानित भएका छन् ।
नारी दिवसको अवसरपारेर शनिबार वराहक्षेत्र नगरपालिका–२ मा ‘श्री महिलामैत्री नेपाल’ संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेमा श्रमिक महिलाहरू अर्जुनकला खत्री, फूलमाया भुजेल र राममाया माझी, टेम्पोचालक शान्ता गजमेर, शिक्षक रामकुमारी राई, पूर्व स्वास्थ्यकर्मी बुद्धमाया तुम्बाहाम्फे र दुर्गादेवी बुढाथोकी र ज्येष्ठ नागरिक सामाजसेवी देउमाया थापा मगर र फुटबल खेलाडी मनिषा विष्ट रहेको सचिव शारदा खड्काले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगर उपप्रमुख नन्दुकुमारी राई, विशिष्ट अतिथिहरू वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, नेपाली काङ्ग्रेस सभापति अमर कटुवाल, नेकपा (एमाले) सचिव यादव गौतम, आदर्श माविका पूर्व प्राचार्य ज्ञानबहादुर पाण्डे, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष सीता भण्डारी पौडेल, वडासदस्य सिर्जना परियार, निवर्तमान सदस्यद्वय सुमित्रा घिमिरे र धनकुमारी गहतराजले उनीहरूलाई प्रमाण–पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख राईले महिलाको लागि महिला नै अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोबताइन् । विशिष्ट अतिथि सीता भण्डारी पौडेलले महिलाको अधिकारको सवालमा अझै पनि प्रष्ट हुन नसकेको भन्दै नगरका ११ वटै वडाका अध्यक्षमा पुरुषहरू मात्र हुनुले लैङ्गिक विभेद भएको बताइन् । वडाको सभाहलमा दिलु गजमेरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।