धरान । पिण्डेश्वर विद्यापीठका सुरक्षागार्ड टोकिएको विषय माउ पार्टी नेपाली काङ्ग्रेस धरान नगर समितिले स्वीकार गरे पनि घटनामा संलग्न विद्यार्थीले ‘सुरक्षागार्डको गलत हर्कतका कारण घटना भएको’ दाबी गर्दै आएका छन् ।
माउ पार्टी काङ्ग्रेस नगर सभापति श्याम पोखरेलले भने, ‘टोकेकै रहेछ, त्यो विषयमा हामीले उपचारमा लाग्ने खर्च पार्टीले बेहोर्छ भनेका छौँ ।’ उनका अनुसार अभिभावकजस्ता व्यक्तिमाथि गलत कार्य भएकाले पार्टीले उपचार खर्चसम्म बेहोरिदिने र विद्यार्थीलाई माफी मगाउने कुरा गरिएको बताए । तर, घटनामा संलग्न अर्थात् पीडक भनिएका विद्यार्थी विद्यापीठ इकाई सभापति प्रवेश पौडेलले सुरक्षागार्डले पनि हातपात गरेकाले घटना भएको दाबी गर्दै आएका छन् । ‘उहाँबाटै त्यस्तो व्यवहार भयो र हामीबाट भएको हो । उहाँ कर्मचारी भएर विद्यार्थीलाई हातहाल्नु हुँदैनथ्यो’–उनले भने ।’ माउ पार्टीले उपचार खर्च बेहोर्ने विषयबारे सुरक्षागार्ड भूवनसिंह विष्ट अझै बेखबर छन् । ‘खोइ, मलाई केही थाहा छैन । मलाई केही थाहा छैन । त्यस विषयमा केही छलफल पनि भएको छैन । जानकारी पनि आएको छैन’ –उनले भने । उनले आफूले क्याम्पस प्रशासन, कर्मचारी सङ्गठन र प्राध्यापक सङ्घ सबैलाई घटनामा संलग्न विद्यार्थीलाई कारबाही हुनुपर्छ भनेर निवेदन दिएको बताए ।
घटना भएको दिन धरान–१४ विजयपुरस्थित अस्थायी प्रहरी चौकीलाई पनि मौखिक जानकारी गराएको उनले बताएका थिए । शुक्रबारका दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मनोनयन पत्र वितरण गर्ने दिन साँझको ५ बज्न लाग्दा घटना भएको निर्वाचन आयुक्त कृष्णगोपाल अधिकारीले जानकारी दिएका थिए । यता क्याम्पस प्रमुख काशिनाथ पौडेलले पीडित सुरक्षागार्डले निवेदन दिएको बताए । यस विषयमा नेकपा (एमाले) धरान नगर कमिटी र नेपाली काङ्ग्रेस नगर समितिका अध्यक्षहरू र विद्यार्थीसँग छलफल गर्दा नेपाली काङ्ग्रेसका सभापति पोखरेलले उपचार खर्च बेहोरिदिने बताएको उनले जानकारी दिए । ‘उपचारमा लागेको खर्च बेहोर्छौं । जुन विद्यार्थीले गलत गरेको छ । प्रशासन र पीडित कर्मचारीसँग बसेर उनीहरूको सम्बन्धलाई स्थापित गराउने भन्ने भएको छ ।’
उनले त्यस विषयमा आज (सोमबार) सम्ममा दुई पक्षलाई राखेर छलफल गराई समस्याको समाधान गर्ने बताए । ‘दुवै पक्षलाई सहमति गराउन आज भ्याइएन, भोलि गर्छौं’ उनले आइतबार भने, ‘पीडित र पीडकलाई राखेर समस्या समाधान गर्छौं ।’ तर, पीडक भनिएका विद्यार्थी पौडेलले आफ्नो पनि केही क्षति पुगेकाले त्यससम्बन्धमा पनि क्याम्पस प्रशासनले सुन्नुपर्ने बताए । ‘मेरो पनि केही क्षति भएको छ । छातीमा हानेको छ । एक्स–रे पनि गरेर रिपोर्ट ल्याएको छु । खर्चको विषयमा पार्टीले बोलेको कुरा हो । एक्सनको कुरामा प्रशासनसमक्ष जान्छौँ’–उनले भने ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि विद्यापीठमा अनियमित विद्यार्थी भर्ना गरिएको भन्दै नेविसङ्घले आवाज उठाउँदै आइरहेको थियो । क्याम्पस प्रशासनको मिलेमतोमै फर्जी विद्यार्थी भर्ना गरेको आरोप नेविसङ्घको छ । शास्त्री तहमा भर्ना भएका केही विद्यार्थीहरू आचार्य तहमा केही विषय लागेका विद्यार्थीहरू रहेको र केही सरकारी शिक्षकहरू भर्ना गरिएकाले त्यस्ता विद्यार्थीहरूको नाम मतदाता नामावलीबाट हटाइनुपर्ने तर्क गर्दै आएका थिए ।
त्यस विषयमा क्याम्पस प्रशासनले सबै प्राध्यापक सङ्घहरू सम्मिलित छानबिन समिति गठन गराएको थियो । उक्त समितिले तीनजना अनियमित विद्यार्थीको नाम हटाएको थियो । विद्यापीठको निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल मताधिकार भएका विद्यार्थीको सङ्ख्या २ सय ११ रहेको छ । यसमध्ये पनि ४२ जना फर्जी विद्यार्थी रहेको नेविसङ्घको अडान छ ।
यता यस विषयमा आइतबार छलफल गरी विवादित विषयलाई टुङ्ग्याइएको छ । विद्यापीठका इकाई सभापति पौडेलले भने, ‘माउ पार्टीका अध्यक्षहरू बसी आपसी समझदारी भयो । निर्णय गरिदिनुभयो । समझदारीपूर्ण तरिकाले अगाडि बढ्ने भएको छ ।’