विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राईका स्वकीय सचिव सुदर्शन लिम्बूले क्षेत्राधिकार नाघेर नगरको लेटरप्याड प्रयोग गरी २० वटै वडा कार्यालयहरूलाई निर्देशनात्मक पत्राचार गरेका छन् ।
कतिपयले यसलाई लेटरप्याडको दुरुपयोग भनी चर्चा गरेका छन् । सामान्यतः निजी सचिवालयले नगर प्रमुखको सहयोगी भूमिका निर्वाह गर्नुपर्छ तर, सोमबार नगरप्रमुख राईका निजी सचिव लिम्बूले क्षेत्राधिकारभित्र नपर्ने काम गरी वडा कार्यालयहरूलाई विभिन्न योजना तथा कार्यक्रमको सूची पठाउनू भन्दै निर्देशनात्मक पत्राचार गरेका हुन् ।
२० वटै वडा कार्यालयहरूलाई सम्बोधन गरी ५७८७ चलानी नम्बरबाट निर्देशनात्मक पत्रचार गरेका हुन् । लिम्बूद्वारा हस्ताक्षरित पत्रमा ‘आर्थिक वर्ष २०७९र०८० मा सञ्चालित सामाजिक, आर्थिक तथा भौतिक योजनाअन्तर्गत यस वडाले हालसम्म सम्पन्न गरेका योजना तथा कार्यक्रमहरूको सूची बनाई उपलब्ध गराउन अनुरोध गरिन्छ’ भनी उल्लेख गरिएको छ ।
धरान उपमहानगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले मेयरका निजी सचिवलाई पत्रमा हस्ताक्षर गर्ने अधिकार नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको निजी सचिवले मन्त्रीलाई पत्राचार गर्न मिल्छ ?’ उनले प्रशासकीय प्रमुखमार्फत् वा मेयरबाट नै आउनुपर्ने बताए । वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले क्षेत्राधिकार मिचेको बताउँदै भने, ‘नगरप्रमुखले शासन गर्न खाजेजस्तो देखिन्छ ।’ उनले योजना वा खर्च विवरण महाशाखामार्फत् माग हुनुपर्ने बताए । ‘मेयरको सचिवालयले छुट्टै सरकारको अभ्यास गर्न खोजेजस्तो देखियो’ उनले भने, ‘सचिवालयले माग्ने होइन । दिनैपर्छ भन्ने छैन । हामी नदिन पनि सक्छौँ ।’
वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र राई ‘प्रवीण’ ले नगरको सचिवले पत्राचार गर्न नहुने बताए । उनले भने, ‘मेयरकै इन्ट्रेसमा पठाएको होला ।’