कोशी प्रदेशको नामकरणका विरुद्ध पहिचान पक्षधरले गरेको आन्दोलनमा सहभागी भएका पत्रकार महासङ्घ सुनसरीका अध्यक्षसहित दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कोशी प्रदेश संसद् भवन नजिकै पहिचान पक्षधरको सडक कविता आन्दोलनमा सहभागी हुन पुगेका अध्यक्ष जनकऋषी राई र धरानका फोटो पत्रकार सञ्जय याक्खा लाई प्रहरीले केही समयका लागि नियन्त्रणमा लिएको हो ।
किराँत राई लेखक सङ्घ, किराँत अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान, याक्थुङ लेखक संघद्वारा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी हुन विराटनगर पुगेका राई संसद् भवन नजिकै कविता वाचन गर्ने क्रममा प्रहरीले त्यहाँबाट हट्न भनेको थियो ।
उनले प्रहरीको उक्त निर्देशनको अवज्ञा गर्दै कविता वाचन गर्ने थालेपछि प्रहरीले उनी र उनीसँगै रहेका याक्खालाई पनि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केहि समयपछि दुवै जनालाई छाडिएको प्रहरीले जनाको छ ।
प्रदेश सभाले प्रदेशको नाम कोशी प्रदेश नामकरण गरेसँगै पहिचान पक्षधरहरूले विरोधका कार्यक्रम गर्दै आएका छन् ।