धरान । नेपाल प्रहरीको ३० औं आईजीपी (प्रहरी महानिरीक्षक) मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । सरकारले शुक्रबार वरीयतामा सबैभन्दा अगाडि रहेका कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो ।

उनी तीन दिनअघि मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका थिए । कुँवरले दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहेमा कुँवर २०८१ चैत ४ गतेसम्म आईजीपीमा बहाल हुनेछन् । उनी २०७३ पछि सबैभन्दा लामो अवधि आईजीपी बन्ने अधिकृत हुनेछन् । 

२०७० मङ्सिरदेखि २०७३ फागुनसम्म उपेन्द्रकान्त अर्याल तीन वर्ष तीन महिना आईजीपी बनेका थिए । अर्यालपछि कुँवर नै सबैभन्दा लामो कार्यकाल पदमा रहने आईजीपी हुन् ।

तुलनात्मकरूपमा लामो कार्यकाल पदमा रहने भएकाले कुँवरलाई प्रहरी सङ्गठनको थिति बसाल्ने अवसर हुनेछ । उनीसँगै तीन दिनअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी नियुक्त भएका थिए । प्रतिस्पर्धी पाँच जनामध्ये सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।