अष्ट्रेलिया । अष्ट्रेलियाको गोल्डकोस्टमा बसोबास गर्ने नेपाली खेलाडीहरुका बीचमा भोली चैत्र १२ गते एकदिने सुपर एट क्रिकेट ‘गोर्खाज कप २०२३’ प्रतियोगिता हुने भएको छ । गोल्डकोष्टको ओवल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा ५ टोलीले भाग लिने गोर्खाज किचेनका सञ्चालक तथा प्रतियोगिताका संयोजक इटहरी सुनसरी निवासी मनिष भट्टराईले बताए ।
नेपाली राष्ट्रिय टोलीको विश्व क्रिकेट खेलमा देखिएको विजयले उत्साहित भएर यहा“स्थित क्रिकेट प्रेमीहरुका बीचमा प्रतियोगिता गराउन लागिएको संयोजक भट्टराईले ब्लाष्टलाई बताए । यो खेल केवल प्रतिष्पर्धाका लागि मात्रै नभएर नेपालीहरुबीचको क्षमता र भातृत्व प्रदर्शनका लागि पनि सहायक हुने आफूले विश्वास लिएको उनको भनाई थियो ।
प्रतियोगितामा विजयी टिमले १ हजार ५ सय र उपविजेताले १ हजार अष्ट्रेलियन डलर, प्रमाणपत्र र पदक पाउने छन् । यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्समेन , उत्कृष्ट बलर र हरेक खेलमा म्यान अफ द म्याचको उपाधी पनि प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सक्सेज एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको छ भने मिदास फाइनान्स, डेसी टड्का, रसोई माष्टर , भियतनामा ओई , ८८४८ मःम हाउस सहप्रायोजनका रुपमा रहेका छन् ।