भद्रपुर । झापामा जस्तापाताको छाना भएका उद्योगहरूको छाना उडाउँदा २४ करोडभन्दा बढीको क्षति पुगेको जनाएको छ । शुक्रबार साँझ आएको हावाहुरीसहितको असिनापानीबाट झापाका उद्योगहरूमा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले जनाएको छ ।
छाना उडाउँदा उद्योगको मेसिन, तयारी वस्तु, कच्चा पदार्थलगायतमा क्षति पुगेको सञ्चालकहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको विवरणअनुसार भद्रपुर नगरपालिका वडा नं. ६ मा रहेको जगदम्बा चिया उद्योगको जस्तापाताको छाना उडाउँदा करिब ६ लाख बराबरको क्षति भएको छ । बिर्तामोड नगरपालिका वडानम्बर २ मा रहेको पाथीभरा स्टिल इण्डष्ट्रिजमा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख छ । उद्योगमा एसीबी २ थान, ५ सय एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याव, कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत धेरै मेसिनहरू पानी पसेर पूर्णरूपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रबन्ध निर्देशक कपिल विमलीले जानकारी दिए ।
यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वार्टरमा समेत क्षति पुगेको छ । त्यहाँ भएका भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायतका सामग्रीहरूमा क्षति हुनुका साथै भवनको छानामा लगाएको जस्तापातासमेत उडाएको छ । उद्योगको मुख्य मेसिन र भट्टी रहेको स्थानको छाना उडाएर असिनापानी पसेका कारण ठूलो क्षति भएको उद्योगका व्यवस्थापक भूपाल थापाले जानकारी दिए ।
त्यस्तै बिर्तामोड नगरपालिका वडा नं.२ मै सञ्चालनमा रहेको पाथीभरा प्लाई एण्ड इण्डष्ट्रिजमा ३ करोड २० लाख बराबरको क्षति भएको छ । उद्योगमा फेसस्टक १ करोड, प्लाइउड ६० लाख, कोर फाली ३५ लाख, ट्रस डेमेज (टिनसहितको घर) १ करोड २५ लाख गरी जम्मा ३ करोड २० लाख बराबरको क्षति भएको सञ्चालकहरूले बताएका छन् । सोही वडाको चैतुबारीमा सञ्चालन गरेको नमस्ते प्लाई एण्ड इण्डष्ट्रिजमा ७० लाख बराबरको क्षति भएको छ । तयार रहेको प्लाइहरू, फेस पत्ता, कम्प्रेसर मेसिन, कोर पत्ता, फाइवर सिट, टिनसहितको वाल, सि.सि.क्यामेरालगायत अन्य सामानमा क्षति पुगेको जनाइएको छ ।
त्यस्तै बिर्तामोडकै वडा नं. २ मनकामना टोलमा रहेको कञ्चनजङ्घा सिमेन्ट उद्योगमा ६ करोड बराबरको क्षति भएको छ । टिनको छानो उडाई त्यसको गोदामभित्र रहेको क्लिङ्कर (कच्चापदार्थ) फलारास, सिमेन्टसमेत पानीले भिज्दा सो बराबरको क्षति भएको सञ्चालकले जनाएका छन् । यस्तै सोही वडाको मनकामना टोलमै सञ्चालन गर्दै आएको अम्बे भवानी प्लाइ उद्योगमा ९५ लाख बराबरको क्षति भएको छ । प्लाइ फेस १० लाख, प्लाइउड ४० लाख, कोर फाली ३० लाख, टिन जस्तापाता उडाउँदा १५ लाख क्षति भएको जनाइएको छ ।
यसैगरी मनकामना टोलमा नै रहेको कन्काई प्लाइ फ्याक्ट्रीमा ३ करोड १० लाख बराबरको क्षति भएको छ । तयारी रहेको प्लाइ ९० लाख, फेस भेनियर ६० लाख, कोर भेनियर १ करोड २५ लाख ,टिनको छानो उडाउँदा ३५ लाख बराबरको क्षति भएको विवरण आएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उद्योगका सञ्चालकहरूले क्षतिको विवरण टिपाउने क्रम जारी रहेको डिएसपी रिजालले जानकारी दिए ।
यता शनिबार बिहान हावाहुरीले भाँचेको दाउरा टिप्न जाने क्रममा ताराबारीको अर्नाखाडीमा भाँचेको रुखको हाँगा तान्ने क्रममा सोही हाँगाले लागेर स्थानीय ४० वर्षीया सिलाई धिमालको मृत्यु भएको छ । बिहान ९ बजेतिर घाइते भएकी धिमाललाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको डिएसपी रिजालले बताए ।
त्यस्तै हावाहुरीसहित आएको असिनापानीले बिर्तामोड– ३ स्थित मुसहर बस्तीमा चारवटा घर भत्किएको छ । सन्तोष ऋषिदेव, राजेन्द्र ऋषिदेव, सञ्जय ऋषिदेव र मनु ऋषिदेवको घर हावाहुरीले भत्काएको हो । उनीहरूको टिनको छाना भएको बाँसको घरको छानो उडाएको हो । त्यस बस्तीमा ९ घर मुसहर रहेका छन् । हावाहुरीका कारण अधिकांशको चर्पीसमेत भत्किएको छ । अञ्जु चौधरी, मनु ऋषिदेव, सुरज ऋषिदेव, सम्झना मुर्मूलगायतको चर्पी भत्किएको हो । बिर्तामोड–३ का मुसहरसँगै बिर्तामोड–१० विराटपोखरका विपन्न मुसहरको घर पनि भत्किएको जनाइएको छ ।
असिनासहितको हावापानीले बालीनालीमा पनि लाखौंको क्षति पुगेको छ । कन्काई नगरपालिकामा मात्र २४ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । बालीनालीको क्षति अवलोकन गर्ने क्रममा कन्काई नगरपालिकामा मात्र २४ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बालीनाली क्षति भएको पाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले आइतबार बिर्तामोड र भद्रपुर नगरपालिकामा क्षतिको विवरण सङ्कलन गरेको जानकारी दिए ।
हावाहुरी र असिनापानीले कृषि बाली र भौतिक संरचनामा क्षति गरेको बिर्तामोड नगरपालिका वडा नं. ९ र १० का बासिन्दाहरूले बताएका छन् । बिर्तामोड–९ का बालकृष्ण आले, बुधलाल कुर्मी, १० का मनबहादुर राई, तारा विश्वकर्मा, दिलिप विश्वकर्मा, छविलाल नेपालले आफ्नो र अरूको मकै र अन्य बालीका साथै भौतिक क्षति पुगेको जानकारी दिए । बिर्तामोड–९, १० लगायतका वडाहरूमा मकै, जै घाँस, आँप, लिच्ची र तरकारी बालीमा क्षति पुगेको छ । घरको जस्तापाता असिनापानी र हावाहुरीले उडाएर लगेको, प्वाल पारेको, घर भत्काएको, निर्माण हँुदै गरेका संरचनामा असर पुगेको जनाइएको छ । पाक्न लागेको र हुर्कंदै गरेको मकै भाँचिएको र असिनाले लागेर काम नलाग्ने बनाएको किसानहरूले बताएका छन् ।