भरौल । छैठौँ वराह गोल्डकपमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ उपाधिनजिक पुगेको छ ।

आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै युनाइटेड उपाधि होडमा पुगेको हो । निर्धारित ९० मिनेट अवधिभर गोलरहित बराबरीमा खेल टुङ्गिएपछि टाइब्रेकरबाट नतिजा आएको हो ।

सुनसरीबाट प्रवेश दनुवार, सुमित चौधरी, सुदीप खड्का, रमेश राजवंशीले गोल गरे भने उमेश कार्कीको गोल बाहिरिएको थियो । यता युनाइटेडबाट विशाल दर्जी, सोनिम मगर, स्टेभ, विवश मगर, राम साहले गोल गरे ।

खेलको  म्यान अफ दी म्याच युनाइटेडका गोलरक्षक लोकेश चौधरी घोषित हुँदै नगद ५ हजार रुपैयाँ पाए । आज (सोमबार) भारतको कञ्चनजङ्गा फुटबल क्लब र डिभाइन  ब्वाइज युनियन क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुँदै छ ।