विराटनगर । भारत विहारको राहुल ११ नरपथगञ्जले दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले १ लाख ११ हजार पायो भने उपविजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो ।
१ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशमलव २ बलमा ७ विकेट गुमाई लक्ष पूरा ग¥यो । नरपथगञ्जका भानु आनन्दले ३५ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ६ छक्का र ४ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल घोषित हुँदै ११ हजार रुपैयाँ पाए ।
नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए । विराटनगरका विधान गोस्वामीले ३ दशमलव २ बलमा ३३ रन खिर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससी १९ ओभरमा अलआउट भई १ सय ५७ रनमा सीमित भयो । विराटनगरका रोहन विकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २–२ विकेट लिए ।
बेस्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए । यस्तै बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयीमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।
विजेता टिमलाई क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।