विजयपुर । धरानका नगरप्रमुख हर्क साम्पाङले चलाएको कोकाहा खानेपानी अभियानको आधिकारिकतामाथि वराहक्षेत्र नगरपालिकाले प्रश्न उठाएको छ ।

कोकाहाबाट खानेपानी लाने निर्णयको आधिकारिकतामाथि प्रश्न उठाउँदै कार्यपालिका बैठक र धरान खानेपानी व्यवस्थापन बोर्डको आधिकारिक निर्णय माग गरेको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले धरान खानेपानी बोर्ड र धरान नगर कार्यपालिकाको आधिकारिक निर्णय समन्वय गर्न पत्राचार गरेको बताए ।

वराहक्षेत्रले पठाएको पत्रमा ‘वराहक्षेत्र नगरपालिका वडा नं. १ मा अवस्थित कोकाहा नदीको शिरबाट कोकाहा, कौशिकी’ सङ्गमस्थल (वराहक्षेत्र) सम्मका नदी आसपासका स्थानीयवासी र सरोकारवाला निकायहरूसँग कुनै पनि छलफल नगरी खानेपानी प्रयोजनका लागि पानी लैजाने कार्य गरिरहेकाले उक्त कार्य नगर कार्यपालिकाको बैठकबाट निर्णय भए÷नभएकोबारे जानकारी पठाउन भनिएको छ ।

पत्रमा ‘धरान उपमहानगरपालिकाले खानेपानी प्रयोजनका लागि पानी लैजाने कार्य गरिरहेको भनी यस नगरपालिकामा व्यापक जनगुनासो आइरहेको’ ले पनि निर्णयबारे जानकारी गराउन उल्लेख गरिएको छ । नगरको सोमबार बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगर नगर कार्यपालिकाको कार्यालयसँग सो सम्बन्धी संस्थागत निर्णय माग गरी जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीको रोहवरमा वराहक्षेत्र नगरपालिकासँग सम्झौता गर्नुपर्ने निर्णय भएको पत्रमा उल्लेख छ ।

धरान नगरलाई पठाएको पत्रमा आवश्यक वातावरण सिर्जना गराउन पनि अनुरोध गरिएको छ । अधिकृत सिटौलाले भने, ‘कार्यपालिका बैठकले धरान खानेपानी बोर्ड र नगर कार्यपालिका बैठकको आधिकारिक निर्णय माग गरेका छौँ ।’ उनले समन्वय नगरेको र काम गरेको स्थानमा फोहोर गरी सफा नगरेको विषयमा स्थानीयको व्यापक गुनासो आएकोले पनि आधिकारिकतामाथि प्रश्न गरिएको बताए ।

नगरप्रमुख राईले वराहक्षेत्रका स्थानीय र सरोकारवाला पक्षसँग समन्वय नगरी काम गरेका कारण वैशाख २ गते वराहक्षेत्र–१ चावाचाका स्थानीयले विरोध गरेका थिए । उनीहरूले मकै उम्रिदै गरेको आफ्नो बारीबाट पाइप बिछ्याउन लागेपछि विरोध जनाएका थिए । स्थानीयले आफूहरूलाई पनि खानेपानी र क्षतिपुर्ति दिनु पर्ने माग राखेका थिए । विवाद भए पछि धरान नगरप्रमुख हर्कराज राईले वराहक्षेत्र नगरप्रमुखसँग छलफल गरेका थिए । धरान नगरप्रमुख राई नीतिगत रूपमा नचल्दा समस्या भएको बुझाइ धेरैको छ ।

श्रमदानबाट पकुवा, निशाने, सर्दुको खानेपानी योजना सकेर नगरप्रमुख राई अहिले कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा लागेका छन् । यस अभियानका लागि नगरप्रमुख राईले नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएका छैनन् । किनकि यसबीचमा दुईपटक कार्यपालिका बैठक बसे पनि स्वकीय सचिवको पत्रलाई लिएर वडाध्यक्षहरूले विरोध गरेका थिए । त्यसयता वडाध्यक्षहरू कार्यपालिका बैठकमा उपस्थित भएका छैनन् । यसै विषयलाई लिएर उनले वडाध्यक्षहरूको राजीनामा मागसमेत गरिसकेका छन् ।