देउराली । धरानका नगरप्रमुख हर्क साम्पाङले संघिय सरकारले तथा नापी विभागले जारी गरेको साँध सीमा खोज्नु अधिकार भएको बताएका छन् ।
उनले आफ्नो क्षेत्राधिकार यकिन गर्नु कर्तव्य भएको भन्दै संघिय सरकार र नापी विभागद्वारा जारी नक्साका आधारमा पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाएको बताएका छन् ।
बिहीबार नगरप्रमुखको कार्यालय पत्रकार सम्मेलन गर्दै नगरप्रमुख साम्पाङले एक विज्ञप्ति जारी गरी बोर्ड हटाउने राष्ट्रिय युवासंघ इटहरी उपमहानगर कमिटीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै इटहरी उपमहानगरपालिका समक्ष उक्त बोर्ड सोही ठाउँमा माग समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘ सरकारले लगाएको आधिकारिक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कोही कसैलाई छैन र हुनु हुँदैन, त्यसो भएको हुँदा कसुरवार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु र उखेली लगिएको उक्त बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाइदिन सम्बन्धित पालिका र सम्बन्धित निकायहरूमा माग गर्दछु ।”
आइतबार दिउसो उक्त स्थानमा धरानको नगर प्रहरी र प्राविधिकको टोलीले पानीपियामा बोर्ड लगाएपछि विवाद उत्पन्न भएको थियो । बोर्ड लगाएको केही समयपछि युवासंघ इटहरीले उक्त बोर्ड त्यहाँबाट हटाएपछि उक्त विषय थप चर्किन पुगेको छ ।
युवा संघले बोर्ड हटाए सँगै इटहरीका नगरप्रमुख हेमर्कण पौडेलले पत्रकार सम्मेलन गरेर २०१० भन्दा अगाडी देखी नै धरान–इटहरीको सीमा सेउती खोलाको पुल रहेको बताएका थिए ।
आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको भन्दै धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले सेउती प्रहरीको इलाका प्रहरीको सीमा तथा सामुदायिक वन समितिले निर्धारण गरेको सीमा क्षेत्र आधिकारिक नहुने बताए ।