इटहरी । कोसी राजमार्गको धरान–इटहरी सडक–खण्ड अन्तर्गत तरहरादेखि सेउती पुलसम्मको बाँकी काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ ।
बुधबार इटहरी उपमहानगरपालिका, छ लेन सडक आयोजना र ठेकेदार कम्पनी हिमदुङ् थोकर एन्ड प्यासिफिक जेभीबीच भएको छलफलमा तीन दिनभित्रमा काम थाल्ने लिखित सहमति भएको हो । ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुर कँडेलले वैशाख १७ गतेबाट धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताएका छन् ।
निर्माणको ठेक्का पाएको सो कम्पनीले सेउती–तरहराबीचको ५.३ किलोमिटर सडक अलपत्र पारेपछि इटहरी उपमहानगरपालिकाले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको थियो । कम्पनीले अटेर गरेपछि गत शुक्रबार उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलसहितको टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएर काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटमसमेत दिएको थियो । उपमहानगरको कदमपछि ठेकेदार कम्पनी काम थाल्न तयार भएको हो । कम्पनीका प्रतिनिधि ठाकुरले कोरोनापछिको आर्थिक समस्याले केही ढिलाइ भएको भन्दै आगामी असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य कामहरू सक्ने प्रतिबद्धता जनाएका छन् ।
सेउती पुलदेखि तीनकुनेसम्म ठेक्का पाएको रौताहा कन्स्ट्रक्सनले कालोपत्रे गरिसकेर काम अन्तिम चरणमा पु¥याए पनि हिमदुङले भने सेउती–तरहरा खण्डको काममा ढिलाइ गरेपछि चौतर्फी आलोचना भएको छ । छ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाइ भएको बताए । कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कामको गति नबढेको उनको भनाइ छ । इटहरीका नगरप्रमुख पौडेलले निर्माण कम्पनीले लिखित प्रतिबद्धता व्यक्त गरेको समयमा सडक पूरा गर्ने विश्वास गरे ।
कोसी राजमार्गको ४९ किलोमिटर सडकमध्ये अब तरहरा–सेउती सडक मात्र विस्तार हुन बाँकी छ । बाँकी रहेकोमध्ये दुहबी बजारमा पनि नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीस वटा घर भत्काइएको छ । घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहबी बजार क्षेत्रमा पनि सहज भएको छ । इटहरीको चौरस्ता चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाइमा घर भत्काइएको थियो । २०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पूरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।