विराटनगर । केही स्थानीयको अवरोधकाबीच मोरङको कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय निर्माण पूरा भएको एक वर्षपछि आफ्नै भवनमा सरेको छ ।
वर्षौंदेखि जीर्ण भवनमा भाडामा बस्दै आएको वडा कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा बुधबार दिउँसो सरेको हो । साविकको स्थानदेखि करिब ७ सय मिटर उत्तरमा बनेको आफ्नै भवनमा वडा कार्यालय लैजान खोज्दा कटहरी–४ जुडी र नयाँबजारका केही स्थानीयले अवरोध गरेका थिए । तर, विरोधका बीच गाउँपालिकाले वडा कार्यालय आफ्नै भवनमा सारेर सेवा सुचारु गरेको हो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले वडा कार्यालय सार्न ९ बजे वडा कार्यालयमा गाडी पठाएका थिए । तर, त्यहाँका स्थानीयले वडा कार्यालयबाट कागजपत्र झिक्न नदिई वडा कार्यालयअगाडि अवरुद्ध गरे । प्रहरी प्रशासनबाट असहयोग भएको कारणले वडा कार्यालयको भवन सार्न बुधबार समयमै नसकिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । ‘वडा कार्यालयको आफ्नै भवन बनिसकेको छ । हामीले आफ्नै भवनमा वडा कार्यालय लैजान कार्यपालिकाबाट निर्णय पनि गरिसकेका छौँ’ उनले भने, ‘कार्यालय सार्न खोज्दा केही स्थानीयले अवरोध गरेका छन् । तर, प्रहरी प्रशासनबाट साथ सहयोग नभएको कारणले समयमै सार्न कठिनाइ भयो ।’
प्रहरी प्रशासनबाट पूर्णरूपमा सहयोग नभएको कारणले वडा कार्यालयको कागजपत्र पुरानो भवनबाट झिक्न नसिकिएको उनले बताए । बुधबार साँझदेखि नयाँ भवनबाट वडाको काम कारबाही सुरु भएकोे उनले बताए । ‘अब पुरानो भवनमा वडा कार्यालयका कर्मचारीहरू जाने छैनन्’ अध्यक्ष चौधरीले भने, ‘सुरक्षा दिएर भए पनि नयाँ भवनबाट काम कारबाही सुचारु हुनेछ । शान्ति सुरक्षाको व्यवस्था प्रशासनले गर्नुपर्छ ।’
चार कोठाको पक्की एक तले भवन ८८ लाख ४५ हजार ४ सय २७ रुपैयाँमा एक वर्षअगाडि नै कटहरी–४ चमडाइ चौकदेखि तीन सय मिटर उत्तरमा बनेको छ । वडा कार्यालयको भवन २०७७ जेठ ११ गते सम्झौता भएर २०७७ चैत २० गते सम्पन्न भएको थियो ।
एक वर्षअगाडि भवन निर्माण भइसक्दा पनि विवादको कारणले नयाँ भवनमा वडा कार्यालय नसरी मासिक २० हजार रुपैयाँ भाडा तिर्दै जीर्ण भवनमा बस्दै आएको थियो । वडा कार्यालय सार्न कटहरी गाउँपालिका–४ का वडाध्यक्ष जीवनेश्वोर यादव नमानेपछि गाउँपालिका अध्यक्ष चौधरीले चार महिनादेखि वडा कार्यालयको भाडा रोकिदिएका छन् । गत पुस २६ गतेको कार्यापालिका बैठकबाट नयाँ भवनमा वडा कार्यालय सार्ने निर्णय भएको थियो ।
वडाध्यक्ष यादवको दोहोरो चरित्र
कटहरी–४ का वडाध्यक्ष जीवनेश्वोर यादवले दोहोरो चरित्र देखाएको कारणले वडा कार्यालय सार्न ढिलाइ भएको गाउँपालिकाको भनाइ छ । गाउँपालिकामा २६ पुसमा बसेको कार्यपालिका बैठकमा वडा कार्यालय सार्ने निर्णयमा वडाध्यक्ष यादवले हस्ताक्षर गरेका छन् ।
वडा कार्यालय सार्ने अघिल्लो दिन वडाध्यक्ष यादवले नयाँ भवनमा पुगेर आफू बस्ने कोठा रोजेर कार्पेट पनि छापेका छन् । तर, वडा कार्यालय सार्ने दिन केही स्थानीयले अवरोध गरे भन्दै आफूले गरेको निर्णयबाट पछि हटेर दोहोरो चरित्र देखाएको कारणले सेवा प्रवाहमा कठिनाइ भएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।
‘कार्यपालिका बैठकमा महिना दिनभित्रमा वडा कार्यालय सार्ने भनेर निर्णय पनि गरिएको छ । आफ्नै सुविधा सम्पन्न भवन पनि छ । यस्तो अवस्थामा जीर्ण भवनमा मासिक २० हजार रुपैयाँ तिरेर भाडामा बस्न मिल्दैन । त्यही भएर मैले चार महिनादेखि कोठा भाडा रोकिदिएको हो’ गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘अब नयाँ भवनबाट जनतालाई सेवा दिइनेछ ।’
जिल्ला प्रशासन कार्यालय मोरङले पनि गत शुक्रबार कटहरी गाउँपालिका–४ को नवनिर्मित भवनमा वडा कार्यालय लैजान गाउँपालिकालाई निर्देशन दिएको थियो । वडाध्यक्ष यादवले अहिले वडा कार्यालय रहेको स्थान सबैलाई पायक पर्ने भएको र स्थानीयको दबावको कारण सार्न नसकिएको बताएका छन् । ‘अघिल्लो पटकको गाउँपालिका अध्यक्ष र वडाध्यक्षले पनि यो कार्यालय सार्न नसकेको हो’ उनले भने, ‘यहाँका जनताले साथ सहयोग दिन नसकेको कारणले नयाँ भवनमा जानसक्ने अवस्था छैन ।’