देउराली ।  धरान उपमहानगरपालिकामा  चैत १ गते यता  निरन्तर ३ वटा (आजसहित) कार्यपालिका बैठक बस्न सकेको छैन । चैत १ गतेको कार्यपालिका बैठकमा नगरप्रमुख साम्पाङका स्वकीय सचिवले वडाध्यक्षहलाई लेखेको पत्रको विषय चर्किएपछि  स्थगित भएको थियो। 

त्यस यता नगरप्रमुख साम्पाङले बोलाएको बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू अनुपस्थित हुँदा बैठक बस्न सकिरहेको छ । चैत १ को बैठक स्थगित भएपछि  वडाध्यक्षहरुले विभिन्न ५ वटा माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए ।  वडाध्यक्षहरू  नगरप्रमुखले आफ्ना मागहरूको सम्बोधन नगरको बताउँदै आइरहेका छन् भने साम्पाङ निरन्तर बैठक बोलाउँदै आएका छन् । 

आज दिउसो  २ बजेका लागि बोलाइएको बैठकमा धरान ४ का वडाध्यक्ष, नगरप्रमुख साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघामात्र उपस्थित थिए । 

 वडाध्यक्षहरूको अनुपस्थितका कारण बैठक बस्न नसकेपछि नगरप्रमुख साम्पाङले पत्रकारहरूसँग कुरा गर्दै  वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूका लागि दुईवटा विकल्प रहेका बताए । उनले बैठकमा उपस्थित हुने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने   विकल्प रहेको भन्दै विगतमा के भएको भन्दै बैठकमा उपस्थित भएर जनताको काम गर्दिन भन्न नमिल्ने बताए । 

उनले जनताले चुनेर पठाएपछि जनताको काम गर्नुपर्ने बताउँदै  जनताको काम गर्दिन भन्नेले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए । साम्पाङले यस्तै स्थिति रहिरहे तोक आदेशबाट चल्ने बताएका छन् । 

उनले कार्यापलिका बैठक अपरूद्ध हुँदा आगामी आर्थिक वर्षको बजेट तयारीमा असर पर्ने सक्ने भन्ने पत्रकारहरूकाे जिज्ञासामा बैठक नबसेपनि बजेट तयार गर्ने  र कार्यपालिका, नगर सभाबाट पारित नभए पब्लिक स्कुलको मैदानमा आमजनता भेला गरेर अनुमोदन गर्ने बताए ।