विजयपुर । विगतका नगरप्रमुखले झैँ हर्कराज राई (साम्पाङ) ले पनि गुपचुप कर्मचारी नियुक्ति गरेका छन् ।

यसअघिका नगरप्रमुख स्वर्गीय तारा सुब्बा, उपनिर्वाचनबाट निर्वाचित तिलक राईले पनि गुपचुप कर्मचारी नियुक्त गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भने स्पष्टसँग करारमा कर्मचारी नियुक्त गर्दा प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख छ । यसपटक नगरप्रमुख हर्कराज राईले पनि पुरानै प्रवृत्तिलाई दोहो¥याएका छन् । दिवङ्गत नगरप्रमुख सुब्बाले आफन्त र पार्टीका विभिन्न तहका नेताका पत्नीलगायत दर्जनभन्दा बढी कर्मचारी नियुक्त गरी आलोचित भएका थिए । तत्कालीन समयमा उपप्रमुख मञ्जु भण्डारी सुवेदी, इन्द्र राई र राजमणि निरौलाका आफन्तलाई नियुक्त गरेपछि सर्वत्र आलोचना भएको थियो । तर, आलोचना भए पनि उक्त विषयमा सुनुवाइ भएको थिएन । २०७६ सालको उपनिर्वाचनमा निर्वाचित नगरप्रमुख तिलक राईले कर्मचारी भर्ना गरेपछि उनी पनि आलोचित भएका थिए । ऐनको दफा ८३ मा प्रशासकीय सङ्गठन र कर्मचारी दरबन्दीसम्बन्धी व्यवस्था रहेको छ । दफा ८३ को १ मा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको अधिकार क्षेत्र तथा कार्यबोझ समेतको विश्लेषण गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामका लागि आवश्यक पर्ने तथा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव तयार गर्नुपर्ने व्यवस्था छ ।

प्रस्ताव गरेपछि विज्ञापन गरी कर्मचारी प्रतिस्पर्धाबाट भर्ना गर्नुपर्ने स्पष्टसँग ऐनमा व्यवस्था छ । ऐनको उपदफा ८ मा ‘नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली बगैँचे, सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनुपर्नेछ’ भनिएको छ । पारदर्शी भएको दाबी गर्दै आएका नगरप्रमुख साम्पाङले पनि पुनरावृत्ति भएपछि अहिले आलोचना सुरु भएको छ । नगरप्रमुख राईले धरान–७ को अध्यक्षका उम्मेदवार बनेका अशोक शर्मालाई राजस्व महाशाखाको सूचना सङ्कलकमा नियुक्त गरेको उपमहानगरको कर्मचारी विवरणमा उल्लेख छ । यस्तै शर्मासँगै नगरप्रमुख राईले स्मृति लामालाई पनि सूचना सङ्कलक नियुक्त गरेका छन् । यस्तै नगरप्रमुख राईले रोलर चालकमा फुपूको छोरा नातामा भाइ पर्ने धनराज राईलाई नियुक्त गरेका छन् । यी तीनैजनालाई नियुक्त गर्दा ऐनले तोकेको नियमलाई पूरा गरेका छैनन् ।

यस्तै धरानको घण्टाघर काउन्टरमा जेठी श्रीमतीतर्फकी छोरीको श्रीमान् (नातामा ज्वाइँ पर्ने) अभिषेक राईलाई पनि नियुक्ति दिएका छन् । यस्तै घण्टाघर इन्चार्जमा भने आफ्नै जेठान पर्ने अनुज भुजेललाई जिम्मेवारी दिएका छन् । खानेपानी व्यवस्थापन बोर्डका निष्कासित चालक तेजकुमारका अनुसार समिर नामका कार्यालय सहयोगी (चौकीदारलाई निकालेर गोपाल राई (कोपिला)लाई सिधै नियुक्ति दिएका छन् ।

धरानको घण्टाघरमा १७ वर्षदेखि कार्यरत नरबहादुर सुब्बाले सिधै काम गर्न आएपछि मात्रै कर्मचारी नियुक्त गरेको आफूले थाहा पाएको बताए । उनले भने, ‘करारमा थियौँ । अहिले ज्यालादारी बनाइएको छ । पहिले सञ्चय कोष र हप्तामा एक दिन बिदा दिइन्थ्यो । अहिले बञ्चित गरियो ।’ उनले नयाँ कर्मचारी ७ सय ५० रुपैयाँ ज्याला दिई पुरानालाई ६ सय ९५ रुपैयाँ मात्रै दिने गरेको पनि बताए । घण्टाघरबाट एक जना कर्मचारीलाई हटाइएको छ । अधिवक्ता जयराम सुन्दासले विज्ञापन गरेर प्रक्रियागत रूपमा भर्ना गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तहले सामान्य कार्यसमिति बनाएर औपचारिक पूरा गरेर राख्न पनि सक्छ । आयोगको प्रतिनिधिसहितको छनौट समिति बनाएर भर्ना गर्न पनि सक्छ । सिधै भर्ना गर्नु नीतिगत हुँदैन ।’ धरान नगरको करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७५ को दफा ४ मा छनौट सम्बन्धी व्यवस्था छ । दफा ४ को उपदफा १ अनुसार कर्मचारी नियुक्त गर्न कार्यालयको सूचनापाटी वा सार्वजनिक निकायमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । दफा ५ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय प्रारम्भिक छनौट गर्न र अन्तरवार्ताका लागि समति बन्नु पर्ने व्यवस्था छ । उक्त समितिले प्रक्रिया पूरा गरेर कर्मचारी भर्ना गर्नुपर्ने हो । ऐनको व्यवस्थालाई  यसअघिका नगरप्रमुखहरूले उल्लङ्घन गरी आफन्त र कार्यकर्ता भर्ति गरे । वर्तमान नगरप्रमुखले पनि त्यही प्रक्रिया दोहोर्याए । बोर्डमा माली २, प्लम्बर ४, चौकीदारलगायत १९ जना नियुक्त गरेको स्रोतको दाबी छ । यस विषयमा बुझ्न बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ब्लाष्टकर्मीले पटक–पटक फोन सम्पर्क गर्दा पनि उठाएनन् ।

‘नगर तोक आदेशमा चल्छ’
विजयपुर । कार्यपालिका बैठकमा वडाध्यक्षसहित कार्यपालिका सदस्य उपस्थित नभएपछि नगरप्रमुख हर्कराज राईले तोकआदेशमा चलाउने बताएका छन् ।

बिहीबार आह्वान गरेको बैठकमा वडाध्यक्षहरू उपस्थित नभएपछि नगरप्रमुख राईले भने, ‘अब तोक आदेशमा चल्छ ।’ चैत १ गतेदेखि स्थगित कार्यपालिका बैठक हालसम्म बस्न सकेको छैन । नगर प्रमुख राईले वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आफ्नो कर्तव्य पूरा नगरेको बताए । उनले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनसमेत आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट तयारी गर्ने र कार्यपालिका, नगरसभाबाट पारित नभए पब्लिक स्कुलको मैदानमा आमजनता भेला गरेर अनुमोदन गर्ने बताए । उनले भने, ‘बजेट सिलिङ वडामा पठाउँछु । आएपछि पब्लिक स्कुलको मैदानमा जनताबाट अनुमोदन गराउँछु ।’