विजयपुर । धरान उपमहानगरपालिकामा निर्देशिका विपरीत कक्षा ८ का सबै विषयको ग्रेड वृद्धि परीक्षा गर्ने तयारी भएको छ ।

नगरप्रमुख हर्कराज राईले निर्देशिका विपरीत सबै विषयमा अनुत्तीर्ण विद्यार्थीलाई पनि ग्रेड वृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेका हुन् । निर्देशिकामा भने दुई विषयमा अनुत्तीर्ण हुनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने स्पष्ट व्यवस्था गरिएको छ ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ को ७ मा (२) ग्रेड वृद्धि परीक्षा र प्रमाण–पत्रका सम्बन्धमा व्यवस्था गरेको छ । निर्देशिकाको ७ (२) को (ङ) मा ‘दुई विषयभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेमा वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउनेछन्’ भनिएको छ । तर, धरान नगरमा नगर प्रमुखस्तरीय निर्णय गर्दै दोस्रो पटक सूचना प्रकाशित गरेर सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

धरान उपमहानगरले वैशाख ६ गते कक्षा ८ को नतिजा प्रकाशन गरेको थियो । नगरस्तरीय आधारभूत शिक्षा परीक्षा समितिको बैठकले आधारभूत तह उत्तीर्ण (कक्षा ८) नतिजा प्रकाशन गरेको थियो । शिक्षा महाशाखाले वैशाख ६ गते नजितासँगै तोकिए बमोजिम २ विषयको न्यूनतम् ग्रेड वृद्धिको सूचना प्रकाशित गरेको थियो । महाशाखाले प्रकाशित सूचनामा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ९ मा अध्ययन गर्नका लागि विषयगत रूपमा प्रयोगात्मकतर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गरेको हुनु पर्ने व्यवस्था गरेको’ उल्लेख थियो । निर्देशिका अनुसार बढीमा २ विषयसम्म तोकिए बमोजिम न्यूनतम् ग्रेड प्राप्त नगरेको विद्यार्थीको परीक्षाका लागि समय तालिकासमेत सार्वजनिक गरेको थियो । उपमहानगरले उत्तरपुस्तिका परीक्षण गराई प्राप्ताङ्क वैशाख २० गतेभित्र शिक्षा, युवा तथा खेलकुद महाशाखामा प्रमाणीकरणका लागि पेश गर्ने सूचना प्रकाशित गरेको थियो ।

तर, महाशाखाले नगर प्रमुखस्तरीय निर्णय भन्दै पुनः सबै विषयको ग्रेड वृद्धि परीक्षा दिन सूचना प्रकाशित गरेको छ । वैशाख १० गते प्रकाशित सूचनामा भनिएको छ, ‘यसअघि २ विषयसम्म तोकिए बमोजिम न्यूनतम् ग्रेड वृद्धि प्राप्त नगरेका विद्यार्थीको मात्र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न निर्देशन भएकोमा यस कार्यालयको मिति २०८० वैशाख १० गतेको नगर प्रमुखस्तरीय बैठकबाट सबै विषयमा तोकिए बमोजिम न्यूनतम् ग्रेड प्राप्त नगरेका विद्यार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

धरान नगरकै एक विद्यालयमा कार्यरत एक शिक्षकले मुलुकभरका विद्यालयमा एकरूपता ल्याउनका लागि एकीकृत अक्षराङ्कन पद्दति कार्यान्वयन गरेको बताए । उनले भने, ‘धरान नगर निर्देशिकाविपरीत गएको छ ।’ उनका अनुसार कक्षा ८ को परीक्षामा प्रयोगात्मक र सैद्धान्तिक (लिखित) परीक्षामा उत्तीर्ण हुन कम्तिमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ती शिक्षकले भने, ‘३५ भन्दा कम ल्याएमा ‘एनजी’ लेखिएको हुन्छ । २ विषयसम्म मात्रै एनजी लेखेको विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।’

उपमहानगरले पहिले २ विषय मात्रै भनेर सूचना प्रकाशित गर्नु र पछि सबै विषय भनेर सूचना प्रकाशित गर्नु गलत भएको बताए । यस विषयमा शिक्षा महाशाखाका शिक्षा अधिकृत मनोज भट्टराईले परीक्षा सञ्चालन कार्यविधि नभएको बताए । उनले अन्य पालिकामा पनि यस्तो भएकाले धरानमा पनि नगर प्रमुखस्तरीय निर्णयबाट पुनः सबै विषय ग्रेड वृद्धिको लागि सूचना प्रकाशित गरेको बताए । तर, निर्देशिकामा भने स्पष्टसँग दुई विषयको मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

निर्देशिकाको ७ (२) को (घ) मा मूल प्रमाण–पत्र प्राप्त गर्न नसकेका विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउनेछन् र ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्याङ्कनमा सहभागी भई वाह्य मूल्याङ्कनमा संलग्न हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्याङ्कनको अङ्क तीन वर्षसम्म कायम रहने उल्लेख छ ।