विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) का क्रियाकलाप प्रेस स्वतन्त्रताविरुद्ध रहेको राजनीतिक दल तथा पत्रकारहरूले औंल्याएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्र दिवसको अवसरमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले त्यस्तो निष्कर्ष निकालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस धरान नगरसभापति श्याम पोखरेलले पत्रकारले नगरप्रमुख राईको राम्रा पक्षको मात्र प्रचार गरेको तर, उनका गलत क्रियाकलापको समाचार सम्प्रेषण नगरिएको उल्लेख गर्दै पत्रकारलाई प्रश्न गरे, ‘मेयरको पाइलादेखि टाउकोसम्म भिडियो खिच्ने तपाईंहरू होइन ? भगवान्को त गल्ती कमजोरी हुन्छन् । मेयरका कमीकमजोरी भएको छैन ?’ उनले विगतमा पत्रकारहरूले नगर सरकारको सानो कमजोरीमा पनि आलोचना गरे पनि अहिले समाचारै लेख्न छाडेको बताए । उनले भने, ‘लोकतन्त्र ल्याउन योगदान गर्ने पत्रकारमाथि जाइलाग्न थालेको अवस्था छ ।’ उनले मेयर राईले सबै मिलेर बसेको धरानमा जातीय विखण्डन गर्न खोजेकाले सचेत हुन पनि आग्रह गरे ।
एमाले धरान नगरउपाध्यक्ष पारस काङ्माङले राजनीतिक दलकै कारणले स्वतन्त्रको उदय भएको भन्दै मुलुकमा राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने बताए । उनले धरानको नेतृत्व सेलीब्रेटी जस्तो भएको बताउँदै भने, ‘राजनीतिमा सेलीब्रेटी घुसाउने प्रवृत्तिले धरान यो अवस्थामा आएको छ ।’ उनले चीनका राष्ट्रपति भाइरल हुन नभई जनताको वास्तविकता बुझेर नीति निर्माण गर्न घुम्ने गरेको उदाहरण प्रस्तुत गरे । नगरप्रमुख राईले प्रश्न गर्ने जसलाई पनि झोले भन्ने गरेको उल्लेख गर्दै भने, ‘दलका त कार्यकर्ता हुन्छन् । बरु व्यक्तिको पछि लाग्ने चाहिँ वास्तविक झोले हो ।’
माओवादी केन्द्रका धरान इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) ले सञ्चारकर्मीलाई दुई प्रकारमा हेर्ने अवस्था आएको बताए । उनले भने, ‘कसैको एकोहोरो प्रचार गर्ने प्रचारकर्ता हो भने ब्यालेन्समा समाचार लेख्ने मात्र पत्रकार हो ।’
उनले नगरप्रमुख राईले सरकारको आलोचना गर्ने पत्रकार र सञ्चार माध्यमलाई झोले भन्दै प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको बताए । उनले पत्रकारप्रति नगर सरकारको धारणा माग गरे । उनले भने, ‘स्वतन्त्र प्रेसप्रति नगर सरकारको धारणा के हो ?’ उनले पत्रकारले नगरप्रमुख राईलाई प्रश्न गर्ने वातावरण नभएको बताउँदै भने, ‘पत्रकारले लेख्न सक्ने अवस्था छैन । नागरिकले कसरी बोल्ला ?’ उनले पत्रकारहरूले धरानमा खानेपानी अभावका विषयमा समाचार नलेखेको बताउँदै भने, ‘पानी आएको मात्रै देखाउने पत्रकारिता हो भने भन्नु केही छैन ।’
जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले पत्रकारले सत्ता पक्षलाई सजग बनाउनु पर्ने बताए । उनले आफूलाई धरानमा कुनै फिल्म चलिरहेको जस्तो लागेको बताउँदै भने, ‘डिजिटल संसारमा धरानमा केही अभाव नभएको जस्तो देखाइएको छ । के धरान त्यस्तै छ त ?’ उनले राम्रो संस्कार र संस्कृति नभएको समाजमा भौतिक विकास जति नै गरे पनि केही नहुने बताए । उनले भने, ‘स्वतन्त्रको नाममा नाङ्गै हिँड्न त भएन होला नि ?’
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले भने, ‘प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन महŒवपूर्ण भूमिका खेलेको छ । प्रेस स्तन्त्रतामाथिको हस्तक्षेपविरुद्ध सबै लाग्नुपर्छ । हामी विचलित हुनुहुँदैन ।’
वरिष्ठ पत्रकार हर्ष सुब्बाले प्रेस पूर्ण स्वतन्त्र नभएसम्म लोकतन्त्र सम्भव नहुने बताए । उनले युट्युबमा एकपक्षीय सूचना सम्प्रेषण समस्याका रूपमा देखिएको बताए । उनले भने, ‘समाचार लेख्ने पत्रकारमाथि मेयर राईका अनुयायीबाट भौतिक आक्रमण हुनसक्ने अवस्था छ ।’ उनले समाचारमा चित्त नबुझे खण्डन गर्न सक्ने बताउँदै भने, ‘पत्रकारलाई गुइँठे पत्रकार भनेर धरानकै बेइजत गरिएको छ ।’ उनले वराहक्षेत्र नगरसँग धरानले गर्न लागेको खानेपानी सम्झौताले दीर्घकालीन असर पर्ने बताउँदै राजनीतिक दललाई सचेत रहन आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका शाखाका पूर्वअध्यक्ष केशव घिमिरेले सञ्चारजगत्ले राजाका पालादेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आउँदा पनि निर्वाधरूपमा काम गर्न नपाएको बताए । उनले भने, ‘नेपालभरमै धरानका मेयरकोे ज्यादती छ ।’ उनले नगरप्रमुख राईले विज्ञान र प्रविधिको युगमा ढुङ्गा बोकेर नागरिकलाई भ्रम सिर्जना गरेको बताए । ‘ढुङ्गा नै आवश्यक हो भने यत्रा निर्माण व्यवसायी छन् । उनीहरूलाई एक–दुई दिन बोलाएर कति ढुङ्गा, गिट्टी चाहिएको हो, कुटाउँदा भयो नि । नागरिकलाई भ्रम छरेर के गरेको ? मेयर साम्पाङ पाषाण युगतिर फर्कन चाहन्छन् ?’–उनले प्रश्न गरेका छन् ।
धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले उपमहानगरले प्रेस स्वतन्त्रताको सम्मान गर्ने बताए । उनले नगरप्रमुख राईले दिएको अभिव्यक्तिको विषयमा भने आफूले जवाफ दिन नमिल्ने बताए । उनले भने, ‘उहाँले कुन सेन्सबाट भन्नुभयो, कुन ढङ्गले पुष्ट्याइँ गर्नुहुन्छ, त्यस सवालको जवाफ उहाँले दिनुपर्छ ।’ उनले दलहरूलाई मिलाएर लैजाने, समस्याहरूलाई व्यवस्थापन गर्ने तथा जनप्रतिनिधिहरूको भूमिकालाई जोडेर लैजाने जिम्मा र दायित्व नगरप्रमुखकै भएको पनि बताए । पत्रकार महासङ्घ सुनसरी शाखाका उपाध्यक्ष गणेश निरौलाले नगरप्रमुख राई नसच्चिए महासङ्घ सशक्त आन्दोलनमा जाने बताए ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणा–पत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउन थालेको हो ।