देउराली । धरानका नगर प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति प्रति वाइसिएल धरानले ध्यानाकर्षण गरेको छ ।
नगरप्रमुख साम्पाङले वडा नम्बर १७ को वडाध्यक्ष माथि भएको घटनाको निन्दा गर्दै उपप्रमुख आइन्द्र विक्रम बेघाले जारी गरेको वक्तव्यलाई लक्षित गरी सामाजिक सञ्जाले फेसबुकमा गरेको टिप्पणीको योङ कम्युनिस्ट लिग (वाइसीएल) ले ध्यानाकर्षण गरेको हो ।
साम्पाङले उनको फेसबुक पेज हर्क साम्पाङ अ रेभुलुसनमा वैशाख २६ गते “मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने ? इन्द्रको अगाडि स्वार्गको उखान" भन्दै माओवादी जनयुद्धको उपहास हुने गरी टिप्पणी गरेका थिए ।
साम्पाङले उक्त टिप्पणीलाई लिएर वाइसिएल धरानले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
बिहीबार संयोजक दिपक तामाङको हस्ताक्षरसहितका एक विज्ञप्ति जारी गरी नगरप्रमुखको हैसियत भुल्दै जथाभाबी सामाजिक सञ्जालमा नलेख्न, नबोल्न सुझाव दिँदै नगर प्रमुखको बोली व्यवहारले धरान लज्जित हुनु पर्ने अवस्था सृजना नगर्न, अराजकतापूर्ण व्यवहार, अशिष्ट बोली बचन सच्याउन र धरानको विकासमा केन्द्रित हुन अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ " त्याग, तपस्या बलिदानपूर्ण सङ्घर्षरत युवाहरूको सङ्गठन वाइसिएल नेपाल समाजका विकृति, विसङ्गति र अन्यायको विरुद्ध सतिसाल भएर उभिने युवाहरूको सङ्गठन भन्ने कुरा सर्वविदितै छ ।
मिति २०८० वैशाख २६ गते राती १० बजेर ६ मिनेटमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईज्यूले सामाजिक सञ्जाल फेसबुक (Harka Sampang A Revolution) मार्फत 'मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने रु इन्द्रको अगाडि स्वार्गको वखान' भनाइले महान् सहिदहरू प्रति चोटिलो प्रहार, अपमान एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
१० वर्षे जनयुद्धको जगमा स्थापित संविधानको आधारमा बनेको स्थानीय सरकारको नेतृत्वले जनयुद्धप्रति विष वमन गर्नु दुःखत विषय हो । आफ्नो जग र धरातल बिर्सिएर नगरप्रमुखको हैसियत भुल्दै जथाभाबी सामाजिक सञ्जालमा नलेख्न, जथाभाबी नबोल्न र धरानको अभिभावक भएको नाताले आफ्नो बोली व्यवहारले समग्र धरान लज्जित हुनु पर्ने अवस्था सृजना नगर्न, अराजकतापूर्ण व्यवहार, अशिष्ट बोली बचन सच्याउन र धरानको विकासमा केन्द्रित हुन हार्दिक अपिल गर्दछौँ ।
पुनश्चस् माथि उल्लेखित बुँदाहरू अभिलम्ब पालना एवं कार्यान्वयन गर्नुहुनेछ भनी हाम्रो सङ्गठन विश्वस्त छ । पालना नभएको अवस्थामा कडा भन्दा कडा आन्दोलनमा उत्रने जानकारी गराउँदै उक्त परिस्थितिबाट उत्पन्न हुने सबै समस्याको जिम्मेवारी नगरप्रमुखले नै लिनु पर्ने जानकारी गराउँदछौ । "