विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा एक जना बिरामीको जटिल शल्यक्रिया भएको छ ।  दुर्घटनामा परेर काटिएको हातको नशा विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदीप गुप्ताले सफल शल्यक्रिया गरेर जोडिदिएका हुन् ।

१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको देब्रे हातको पाखुराभित्रको हड्डीको नशा काटिएर त्यसदेखि मुनिको रक्तसञ्चार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा लगिएको थियो । अस्पतालका डाक्टर गुप्ता नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नशा जोडेर हात काट्ने अवस्थाबाट जोगाएका हुन् ।

यसरी काटिएको नशालाई ‘ब्रेकियल आरट्री’ जोडिएको उपचारमा संलग्न डाक्टर गुप्ताले बताए । ‘यसरी उपचार गरिने प्रविधिलाई भास्कुलर सर्जरी भनिन्छ’ –डाक्टर गुप्ताले भने । भास्कुलर सर्जरी अहिले विरलै हुने गरेको उनले सुनाए । एक दशक बढी विराट नर्सिङ हस्पिटलमा काम गर्दा अहिलेसम्म ६ वटा यस्तो केस आएको उनले सुनाए । आएका सबै केसहरूको सफल उपचार भएको उनको भनाइ छ । यस्ता बिरामी ढिलो आए बचाउन नसकिने डाक्टर गुप्ताले सुनाए ।

हातको आरट्री काटिएको बिरामी जतिसक्दो चाँडै हस्पिटल आए बचाउन सकिने उनी बताउँछन् । ‘अहिले सफल उपचार भएको बिरामीको हातबाट रगत कन्ट्रोल भएको थिएन । आरट्री काटिएको थियो । कुहिनो माथि हुन्छ, एउटा मात्र ब्रेकियल आरट्री । यसले रगतलाई सञ्चार गर्ने काम गर्दछ । माथिको आरट्री काटिएको थियो । बिरामी हस्पिटलमा दुर्घटना भएको एक घण्टाभित्र आइपुगेका थिए । यहाँ आउँदा बिरामीका आफन्त कोही थिएनन्’ डाक्टर गुप्ताले भने, ‘हामीले प्रहरीलाई साक्षी राखेर अप्रेसन गर्यौँ । ६ घण्टा लगाएर अप्रेसन गरी बिरामीलाई बचाएका छौँ ।’

अप्रेसन गरेको दुई हप्तापछि खनज (शुक्रबार) डिस्चार्ज गरिने उनले बताए । ‘अहिले बिरामी ठीक भएका छन् । घाउ पनि ठीक भएकोले डिस्चार्ज दिने तयारी गरिएको हो’–डाक्टर गुप्ताले भने । विराट नर्सिङ होममा आफूले नयाँ जीवन पाएको बिरामी स्वर्णकारले बताए । ‘हस्पिटल ल्याउँदा मेरो अवस्था एकदमै नाजुक रहेछ । अप्रेसन गरेको भिडियो हेरेपछि थाहा पाएँ । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि अप्रेसन गरेको दुई हप्तापछि ठीक हुँदै गएको छु’ स्वर्णकारले भने, ‘अहिले घाउ पनि ठीक हुँदै गएको छ ।’