देउराली । धरानका नगर प्रमुख हर्कराज राईले पत्रकार तथा सञ्चार संस्था प्रति सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति प्रति पत्रकारहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै शुक्रबार माहसंघको टोली इनरुवा स्थित कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । प्रजिक पाण्डेलाई बुझाएको ज्ञापन पत्रमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष पत्रकार र प्रेस जगतको शान्ति सुरक्षा माग गरिएको छ ।
नगर प्रमुख राईले समाचार संकलनका लागी उपमहानगर पुगेका पत्रकारहरूलाई दुर्व्यवहार गर्दै सामाजिक सञ्जालमा शृङ्खलाबद्ध रूपमा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता विरोधी गतिविधि बढाएपछि महासंघले पत्रकारका लागि समाचार संकलन गर्न जाने सहज वातावरण नभएको जनाएको छ ।
प्रश्न सोधेको र समाचार लेखेकै आधारमा नगर प्रमुख राई र उनका समर्थकहरू पत्रकारविरुद्ध अराजक रूपमा प्रस्तुत हुने गरेका छन् ।
निरन्तर पत्रकार र संचार क्षेत्र लक्षित दुर्व्यवहार र अराजक अभिव्यक्ति दिइरहँदा यसअघि महासंघले नगर प्रमुख राईलाई पत्रकार तथा सञ्चार क्षेत्र प्रतिको धारणा माग गर्दे ध्यानाकर्षण पत्र बुझाएको थियो । ३ दिन भित्र धारणा दिन भन्दै महासंघले वैशाख २३ गते ध्यानाकर्षण गराए पनि आधिकारिक रूपमा धारणा नदिएपछि महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सोही आन्दोलनको घोषणा अनुरूपमा आज प्रमुख जिल्ला अधिकारी अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।