बिर्तामोड । सामुदायिक प्रहरीको जमिन हडपेर सञ्चालन गरिएको उद्योग बिर्तामोड प्रहरीले हटाएको छ । बिर्तामोड–४ मा सामुदायिक प्रहरी सेवा केन्द्रको स्वामित्वमा दर्ता कायम रहेको जमिनमा सञ्चालित पाउरोटी उद्योग प्रहरीले हटाएको हो ।
उद्योग सञ्चालकले प्रहरी सेवा केन्द्रको जग्गामा संरचना निर्माण गरेपछि अदालतको आदेश बमोजिम भत्काइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए । प्रहरी, जनप्रतिनिधि र प्रहरी सेवा केन्द्रको अगुवाइमा सो संरचना भत्काइएको थियो ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलाई दाताबाट प्राप्त भएको जग्गामा रमेश राजवंशीले पाउरोटी उद्योगको संरचना बनाएका थिए । इलाका प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन अन्तर्गत उद्योगको संरचना भत्काएको छ । प्रहरी सेवा केन्द्रको आग्रहमा प्रहरीले नगरपालिकाको समेत सहयोगमा संरचना भत्काएको हो । भत्काउने क्रममा राजवंशीले जेसीभीको सिसा फुटाइदिएका छन् । सिसा फुटाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रविरुद्ध उल्टै मुद्दा मामिला गरेका राजवंशीविरुद्ध फैसला आएपछि सेवा केन्द्रको जग्गा खाली गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले जानकारी दिए । खनालका अनुसार जिल्ला अदालतले डेढ वर्षअघि नै फैसला गरेको थियो, कोभिड र निर्वाचनका कारण भत्काउन सकिएको थिएन । प्रशंसा बेकरी उद्योग सञ्चालन गर्दै आएका राजवंशीलाई पटक–पटक ठाउँ खाली गर्न आग्रह गर्दा पनि नछोडेपछि जेसीभी प्रयोग गरिएको खनालले जानकारी दिए ।