विराटनगर । नागरिकको स्वास्थ्य उपचारमा खटिने मोरङका ६० भन्दा बढी स्वास्थ्यकर्मीहरूले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
मोरङको रतुवामाई नगरपालिकाभित्र कार्यरत ६० जना स्वास्थ्यकर्मीहरूले चार महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको गुनासो गरेका हुन् ।
माघदेखि वैशाखसम्म चार महिनाको तलब सङ्घीय सरकारले नपठाएपछि यहाँका स्वास्थ्यकर्मीहरूले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । जेठको पहिलो हप्तासम्म सम्पूर्ण स्वास्थ्यकर्मीहरूको तलब र सेवा सुविधा नपाए जेठ ७ गतेबाट आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरूले आइतबार रतुवामाई नगरपालिकाका कार्यकारी अधिकृतलाई बुझाएको ध्यानाकर्षण–पत्रमा उल्लेख छ । पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ । त्यस्तै जेठ ८ देखि १० गतेसम्म १ घण्टा नगरपालिकाको कार्यालय सिजुवामा धर्ना दिने कार्यक्रम रहेको छ । यस्तै जेठ ११ र १२ गते दुई दिन आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
रतुवामाईमा स्थायी ३५ र करारका १५ जना स्वास्थ्यकर्मी रहेका छन् भने ज्यालादारी ४१ जना कर्मचारी छन् । यहाँ सातौँ तहसम्मका स्वास्थ्यकर्मीहरू रहेका छन् । उनीहरूले आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ध्यानाकर्षण–पत्र पनि बुझाएका छन् । उनीहरूले जेठको पहिलो हप्ताभित्र सेवा सुविधासहित तलब उपलब्ध नभए आन्दोलनमा उत्रिन बाध्य हुने ध्यानाकर्षण–पत्रमा उल्लेख गरेका छन् ।
‘पटक–पटक हामीले आफ्नो व्यक्तिगत तवरले सम्पर्क र सोधपुछ गरिरहेको तर, उक्त कुरामाथि नगरपालिकाको कार्यालयबाट उपलब्धिमूलक कुनै कार्य भएको नदेखिएको हुँदा हामी यस नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरू एकजुट भएर आफ्नो तलब, भत्ताको लागि कार्यालय प्रमुखसामु ज्ञापन–पत्र पेश गरी ध्यानाकर्षण गरेका हौँ । हाम्रो यस कार्यप्रति छिटोभन्दा सेवा सुविधा उपलब्ध गराइदिनु अनुरोध गर्दै हाम्रो सेवा सुविधा जेठको पहिलो हप्ताभित्र उपलब्ध नभएमा हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ’–ध्यानाकर्षण पत्रमा उल्लेख छ ।