वराहक्षेत्र नगरपालिकाले ठेक्का रद्द गरे पनि नगरपालिकाको नाम बिक्री गरी नदीजन्य पदार्थ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।
वराहक्षेत्र नगरपालिका १ स्थित कोका खोलामा नदीजन्य पदार्थ उत्खनन भइरहे पनि सरोकारवाला निकाय मौन छन् । नदीजन्य सामग्री उत्खननका विरुद्ध स्थानीय नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । खोलाबाट ढुङ्गा पाखामा निकाल्ने र स्टक ढुङ्गा हो भन्दै तस्करी गर्ने काम भइरहेको स्थानीयले बताएका छन् ।
माफियाले नदी क्षेत्र उत्खनन् गरेको स्थानीयवासीको आरोप छ। स्थानीयले गुनासो गरेपछि सोमबार वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा, जनप्रतिनिधि, स्थानीयवासी र संचारकर्मीहरुको अनुगमनका क्रममा कोका खोला उत्खनन भइरहेको देखिएको वडाध्यक्ष थापाले बताए । वडाबाट स्टक प्रमाणित गर्नुपर्ने ऐनमा भए पनि हालसम्म स्टक प्रमाणित नगरिएको वडाध्यक्ष थापाको भनाइ छ ।
वराहक्षेत्र नगरपालिकाले खोला ठेक्का लगाउने विषयमा गत वैशाख ६ गते ठेक्का खोली वैशाख २१ गते ठेक्का आशयको सूचना सार्वजनिक गरेको थियो । सूचना प्रकाशित भएपछि प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालयले वन क्षेत्रबाट नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण गर्न नसकिने कानूनी व्यवस्था रहेकोले सोही बमोजिम वन क्षेत्रबाट नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण कार्य नगर्न आवश्यक व्यवस्था मिलाइ दिनुहुन भनी च.नं १५२६. मिति २०८०/१/०५ च.नं १४३४ मिति २०८०/०१/१० च.नं. १६६७ मिति २०८०/१/२४ र च.नं १७१७ मिति २०६०/०५/२६ गते वराहक्षेत्र नगरपालिकालाई पत्राचार गरेको थियो ।
वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले खोला ठेक्का रद्द गरिएको पुष्टि गरे । उनले अवैध तरिकाले उत्खनन् गर्नेलाई कानुनी दायरामा ल्याउने बताए ।