धरानमा जारी ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बिबोइज र महिलातर्फ वरियर टिमले हात पारेको छ ।
धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाई १३-७ र वरियरले ग्लाडियटर टिमलाइ ६-२ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन् ।
विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि प्रदेश सांसद विजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न. वडाध्यक्ष विवेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पुरुषतर्फ बिबोइजका शिवम सरराफ र महिलातर्फ वरियरका दिया कोयी राई घोषित भए । उनीहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिला तर्फ २ टिम रहेको थियो ।
प्रतियोगितामा धरान बास्केटबल संघले वैशाख ९ गते देखि ३० गतेसम्म सन्चालित ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुको क्षमता अभिवृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जनाए ।
ट्यालेन्ट हन्टका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडीलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुबेदीले जानकारी गराए ।
प्रतियोगिताको प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।