सुनसरी । कोशी प्रदेशबाट २ सय १६ जनासहित यसवर्ष नेपालबाट १ हजार १ सय २० जना हजका लागि साउदी प्रस्थान गर्ने भएका छन् ।
कोशी प्रदेशको सुनसरीबाट १ सय ८४ जना, मोरङबाट २२ जना र झापाबाट १० सहित नेपालका विभिन्न २८ जिल्लाबाट यसवर्ष १ हजार १ सय २० जना हजका लागि साउदी अरब प्रस्थान गर्दैछन् ।
नेपाल हज कमिटीको सचिवालय सिंहदरबारका अनुसार सबैभन्दा बढी कपिलवस्तुबाट १ सय ९१ जना, सुनसरीबाट १ सय ८४, बाँकेबाट १ सय ३८ जना, रूपन्देहीबाट १ सय ७ जना, रौतहटबाट ९५ जना, सप्तरीबाट ७४ जना, महोत्तरीबाट ४१ जना, सर्लाहीबाट ३९ जना, काठमाडौँबाट ३४ जना, धनुषाबाट ३३ जना, बाराबाट २७ जना, पर्साबाट २६ जना, सिरहाबाट २७ जना, गोरखाबाट २३ जनासहित २८ जिल्लाबाट १ हजार १ सय २० जना साउदी अरबको मक्का जाने भएका हुन् ।
यसैबीच पहिलो चरणमा हजका लागि साउदी प्रस्थान गर्ने व्यक्तिहरूलाई जिल्लाको हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदाइ गरेको छ । आ–आफ्नो स्थानीय तहबाट धार्मिक तीर्थ यात्रा गर्न साउदी अरबको मक्का मदिनामा जाने व्यक्तिहरूलाई बिदाइ गरिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।
देशभरका नेपाली मुस्लिम हाजीहरू चरण–चरण गरी मक्कामा हज गर्न जाने गर्छन् । त्यहाँ पुगेर इस्लाम धर्मअनुसार विशेष प्रकारको नमाज, प्रार्थना गर्ने र इस्लामको ५ स्तम्भमध्ये एक हज पनि भएकोले हाजीहरू साउदी अरब पुगेर हज गर्दछन् ।
देशैभरि छरिएर रहेका मुस्लिम समुदायलाई जिल्लास्तरीय हज कमिटीले हज गर्न मक्का जानेहरूलाई सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटा अनुसार हज यात्राको प्रबन्ध मिलाउने गर्छ । मुस्लिम समुदायमा मक्का गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रूपमा लिने गरिन्छ । सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद् एवम् हाजी इस्राइल मन्सुरीले विश्वभरिका मुस्लिम समुदायले आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।