नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरको हो ।  

सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेका विश्व शान्ति अभियानमा उनका पार्टीका तर्फबाट सहयोग रहने बताएका छन । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

घुँडासम्म दुवै खुट्टा गुमाउनका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पगेका थिए । उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका हुन । बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन ।

—रासस