पाँचथरः नेपाली काँग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बे राजनीतिसँगै समाज सेवाको बाटोमा लाग्ने उद्घोष गरे । पाँचथरको दुरदिम्बादेखि च्याङ्थापुसम्म धेरै नागरिक विपन्न र असहाय नागरिक भएकाले अबको बाँकी जीवन उनीहरूको सेवामा बिताउने बताए ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका—८ दुरदिम्बाका भीमबहादुर तामाङको घर निर्माण गरी गणतन्त्र दिवसको अवसरमा हस्तान्तरण गर्दै आङ्देम्बेले यस्तो उद्घोष गरेका हुन ।
उनले मञ्चमा उभिएर एक अर्कोलाई गालीगलौज गर्ने राजनीतिको परिपाटी भन्दा पनि विपन्न र अप्ठ्यारोमा परेका जनताको सेवामा लाग्नु पर्नेमा जोड दिनुभयो । आफ्नो बाँकी जीवन यस्तै विपन्न समुदायको लागि बिताउने प्रतिबद्धता जनाए ।
जनसेवा समाज पाँचथरको समन्वयमा आङदेम्बेले आर्थिक सहयोग गरी भीमबहादुर तामाङको घर निर्माण गरेका थिए । घर निर्माण गर्न स्थानीय सामुदायिक वनले काठ र नेपाली सेनाको रणशेर गणले जनशक्ति परिचालन गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जनाए ।
तामाङ परिवार काठको जीर्ण घरमा बस्दै आएका थिए । उनका २ जना छोराछोरीका साथमा छन् । घर हस्तान्तरण कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोष शेर्मा, कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का नेपाली काँग्रेस जिल्ला सभापति रूपनारायण जबेगु लगायतका वक्ताले आङ्देम्बेको सहयोग प्रति खुलेरै प्रशंसा गरेका थिए ।
उनले यस अघि पनि पाँचथरकै फालेलुङ गाउँपालिका–३ का अपाङ्गता भएका लक्ष्मण राईको घर निर्माण गरेका थिए ।