पुरूष र महिला दुवैमा जुनियर र सिनियर गरी कुल चार विधामा दोस्रो राष्ट्रिय कुराश प्रतियोगिता शुक्रबारदेखि धरानमा हुने भएको छ ।

नेपाल कुराश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराश प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक तथा नेपाल कुराश एसोसियसनका वरिष्ठ उपाध्यक्ष जीवन राईले बुधबार पत्रकार महासङ्घ सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल कुराश संघले जानकारी दिएको छ । प्रतियोगितामा करिब २० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । धरान १३ स्थित अमर सेवा समाजको कबर्ड हलमा आयोजना गरिने छ ।

Kurash Tournament Dharan

महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ । पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। जसअन्तर्गत २५ केजीमुनि, ३० केजीमुनी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजी मुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय कुराश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर समेत प्रतियोगिताका लागि उपस्थित हुने बताइएको छ । उनी प्रतियोगिताको प्राविधिक सहयोग गर्न र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ ।

तीन दिने प्रतियोगितामा कुल एक सय ५० खेलाडीले कुल १९ स्वर्ण, १९ कास्य र ३८ रजत  पदकका लागि चुनौती प्रस्तुत गर्नेछन् । 

नेपालमा ७३ सालमा स्थापना गरिएको नेपाल कुराश सङ्घ पर्यटनसँग जोड्ने उद्देश्यले धरानमा आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक राईले बताए ।

प्रतियोगिताको सहयोगका लागि कोशी प्रदेश खेलकुद बोर्डबाट ७ लाख रुपैयाँ, राखेप र धरान उपमहानगरलेसमेत रकम दिने प्रतिबद्धता व्यक्त गरेको संयोजक राईले जानकारी दिए ।