बिर्तामोड । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण खेलकुद क्षेत्र ओझेलमा परेको बताएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको सम्मान हुन नसकेको बताए । उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर पनि खेल क्षेत्रलाई खेलाडीहरूले उचाइमा पुर्याउनुभयो । तर, राजनीतिक खिचातानीका कारण अहिले खेलकुद क्षेत्र र खेलमा सहभागीहरूको उचित मूल्याङ्कन राज्यले गर्न सकेको छैन ।’
आफूहरू प्रतिबन्धित रहेको अवस्थादेखि अहिलेसम्म खेलाडीहरूले राजनीतिकर्मीहरूलाई ‘गाइड’ गरिरहेको सभामुख घिमिरेको भनाइ थियो । नेता मदन भण्डारीको हत्या भएको पनि तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए ।
घिमिरेले भने, ‘मदन भण्डारीलाई चिनाउने काम मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको कामप्रति हामी गौरवान्वित भएका छौँ ।’ विशेषगरी कराँते खेलको उन्नतिका बारेमा प्रतिनिधि सभाबाट के–कस्ता कानून वा नियम बनाउनुपर्छ भन्नेबारे कराँते खेलका प्रशिक्षकसँग समन्वय गरेर कानून वा नियम बनाउने काममा आफू लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । सभामुख घिमिरेले भने, ‘म आफ्नो तर्फबाट खेल क्षेत्रको उन्नयनका लागि भूमिका निर्वाह गर्नेछु ।’
झापाको बिर्तामोडमा आयोजना भइरहेको मदन भण्डारी प्रथम राष्ट्रिय कराँते प्रतियोगिता २०८० आज (आइतबार) सम्पन्न हुनेछ । प्रतियोगिताका लागि सातवटै प्रदेशबाट खेलाडी सहभागी भएका छन् । एकेडेमीले यो आर्थिक वर्षमा १८ वटा खेलकुदका कार्यक्रम आयोजना गरिरहेको जनाएको छ ।